अभिनेत्री मनीषा कोइराला बेलायती संसद भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो । ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फातिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।

सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जालमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

‘म सांसद इमरान हुसेनी र एसियन स्ट्यान्डर्ड न्यूजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा बेलायती संसदमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले लेखेकी छिन, ‘यो भव्य समूहको बीचमा उभिन पाउँदा मैले आफुलाई सम्मानित महसुस गरेकी छु । फातिमाको कथा आफैमा अत्यन्तै प्रेरणादायी छ। उनी अझै समृद्ध हुनेछिन् । भगवानले तपाईंलाई सदैव आशिष् दिनुहोस् र म यो सम्मानको लागि गहिरो आभार व्यक्त गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय