सामाजिक सञ्जाल टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोस्ट गरे स्वतः हट्ने सरकारले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले पहल थालेको गृह मन्त्रालयले जानकारी दिएको हो ।

गृह मन्त्रालय, साइबर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय सिंगापुरबीच भएको छलफलपछि यस्ता सामग्री हट्ने भएको हो । टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने सामग्री पोस्ट भए हटाइने मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । टिकटकबाट अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने व्यवस्था भएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

गृह मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकायलगायत सरकारी निकाय एवं टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छलफलपछि घृणा र द्वेष फैलाउने सामाग्री हटाउने समझदारी बनेको हो । सामाजिक सञ्जालमार्फत गैरकानुनी कार्य गर्नेमाथि निगरानी भइरहेकाले कानुनी कारबाहीबाट बच्न जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न गृहले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय