काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बुधबार वडा नं. ९ का विभिन्न पसलहरुको अनुगमन गरेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड दीपावलीको अवसर पारेर नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा खाद्य गुणस्तर विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो ।
नजिकिँदो पर्वमा उपभोक्ता हित लक्षित गरी बजार अनुगमन गरिएको उपप्रमुख बसन्ती श्रेष्ठले बताउनु भयो । उहाँले नगरवासीको स्वास्थ्यलाई नगरपालिकाले आफ्नो प्रमुख दायित्वमा राखिएकोले बेला बेलामा यस्ता अनुगमनगलाई निरन्तरता दिइने पनि बताउनुभयो ।
उपभोक्ता हित कायम गर्नका लागि नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा केही पसलहरु विना मूल्यसूचि सञ्चालन भइरहेका भेटिएका थिए । उनीहरुलाई पहिलो पटक मूल्यसूची राखि व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको थियो । त्यस्तै केही पसलहरु विना दर्ता रहेको, दर्ता रहेका पसलहरु पनि नवीकरण नभएको पाइएको थियो । त्यस्ता पसलहरुलाई चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले उनीहरुलाई सचेत गराई छुट दिएको र अर्को पटक अनुगमनको क्रममा पुनः गल्ती भेटिए कानूनअनुसार कारवाही गरिने चेतावनी दिनुभयो । उहाँले व्यापारीहरुलाई तत्काल दर्ता र नवीकरण एवम् मूल्यसूची राख्न निर्देशन समेत दिनुभयो ।
अनुमगनकै क्रममा विभिन्न पसलमा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको थियो भने केही खाद्य पदार्थ नियन्त्रणमा लिइएको थियो ।