काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थ आयुर्वेद औषधालयलाई १५ शैयाको आयुर्वेद अस्पतालयको रुपमा स्तरउन्नोति गरिने भएको छ । नगर प्रमुख घनश्याम गिरीले धन्वन्तरी जयन्तीको अवसरमा मातातीर्थ आयुर्वेद औषधालयको परिसरमा नवनिर्मित स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रको भवन उद्घाटनको क्रममा यस्तो घोषणा गर्नुभएको हो ।
प्रमुख गिरीले उक्त औषधालयलाई नगरको स्वास्थ्य सेवा केन्द्रको रूपमा विकास गर्ने तथा अस्पतालको आफ्नै भवन हुँदा भविष्यमा १५ शैयाको भवन बनाउन कुनै कठिनाई नहुने उल्लेख गर्नुभयो । उहाँले नरदेवी अस्पतालसँगको सहकार्यमा विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको उक्त औषधालयको प्रबर्द्धन केन्द्र भवन निर्माण भएसँगै नगरबासीलाई थप आर्युर्वेदिक सेवा उपलब्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकाको आधुनिक चिकित्सा पद्धति र आयुर्वेदिक चिकित्सा पद्धति सँगसँगै बिकास गर्दै लाने उद्देश्य स्वरुप उक्त औषधालयले वर्तमान स्वरुप पाएकोमा अबको दिन स्वास्थ्य सेवासँगै जडिबुटीको बैज्ञानिक अध्ययन तथा उत्पादनमा नगरपालिकाले पहल गर्ने कुरा पनि नगर प्रमुख गिरीले जानकारी गराउनु भयो । नगर प्रमुख गिरीले उक्त औषधालय क्षेत्र नजिक जडिबुटी उत्पादन र प्रशोधन केन्द्र तथा होमस्टे स्थापना पनि गर्न सकिने हुँदा रोजगारी तथा आय आर्जनसँग पनि नगरबासलाई जोड्न सकिने दाबी गर्नुभयो ।
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा संचालन गरिएको उक्त कार्यक्रममा नगर उप–प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगर प्रबक्ता कृष्णप्रसाद खड्गी, विभिन्न वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, उक्त औषधालय प्रमुख नारायण आचार्य, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, अतिथिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।