अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अमेरिकामा भेटवार्ता भएको छ दुई शीर्ष नेताबीचको भेटमा सैन्य संघर्ष, लागुऔषधको तस्करी तथा आर्टिफिसियल इन्टेलिजेन्सको तनाव कम गर्ने बारेमा कुराकानी भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । दुई नेताबीच गाजा र युक्रेनमा भएको युद्ध, अन्तर्राष्ट्रिय व्यापार र ताइवानका बारेमा पनि छलफल भएको बताइएको छ ।
बाइडेनले सान फ्रान्सिस्कोबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको फिलोली इस्टेटमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेका थिए । सुरुवाती टिप्पणीमा बाइडेनले अमेरिका र चीनबीचको प्रतिस्पर्धा कुनै पनि किसिमको द्वन्द्वमा परिणत नहोस् भन्ने कुरामा आपसी सम्बन्ध सुनिश्चित गर्नुपर्ने बताएका छन् । राष्ट्रपति सीले बाइडेनसँग एक वर्षअघि बालीमा भएको भेटपछि धेरै कुरा परिवर्तन भइसकेको बताए ।
अहिले विश्व कोभिड महामारीबाट बाहिर निस्किएको भए पनि त्यसको प्रभाव अझै कायमै रहेको उनले बताए । विश्व अर्थतन्त्रमा सुधार भइरहे पनि यसको गति सुस्त रहेको उनको भनाइ थियो । दुई देशविच चीन र अमेरिकाले संयुक्त रूपमा ग्लोबल वार्मिङसँग लड्न र ऊर्जा संक्रमण, मिथेन, चक्रीय अर्थतन्त्र र स्रोत दक्षता, कम कार्बन विकास र वन फँडानी जस्ता क्षेत्रमा केन्द्रित कार्य समूह सञ्चालन गर्ने सहमति भएको छ ।
चीन र अमेरिकाले सन् २०२० को दशकमा वार्ता र सहयोगमा संलग्न हुन र ठोस जलवायु कार्यलाई तीव्रता दिनको लागि कार्य समूहलाई सन् २०२० मा सञ्चालन गर्ने निर्णय गरेका छन । यस वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोप लगाएपछि चीन अमेरिका सम्बन्धमा चिसोपना आएको थियो ।