आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक भारतले बुधबार पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा पुगेको हो । त्यसैगरी गएराती दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अस्ट्रेलिया जारी विश्वकपको लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो । उपाधिको लागि यी दुई टोलीबिच आउने आइतबार अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगलशालाका खेल हुनेछ । जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको छ भने अस्ट्रेलियाले लिगका ९ मध्य २ खेल हारेको छ । विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबिच अहिले सम्म १३ पटक प्रतिस्पर्धा भएको छ । ८ पटक अष्ट्रेलियाले जितेको छ भने ५ पटक भारतले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । अष्ट्रेलियाले ५ पटक तथा आयोजक भारतले २ पटक विश्वकप क्रिकेटको उपाधी जितेका छन् ।