जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको मृत्यु भएको छ । कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार मृत्यु भएको हो ।
कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको मृत्यु भएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या देखिएको छ । भूकम्प पीडितलाई तत्कालै पाल÷टेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी आवासको अभाव देखिएको छ ।