प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको जिकिर गरेका हुन् । उनले राष्ट्रपति पौडेल शुरुदेखि नै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको आरोप पनि लगाए । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताए ।महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताए । मंसिर ७ गते एक किसिमले नेकपा एमालेका लागि वार्मअप भएको उनको भनाइ छ ।