लोकआश्थाको महापर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन । छठ मिथिला तथा तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व हो । परीवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन । निकै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ । छठ पूजाको लागी जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी श्रृङ्गारीएको छ । झिलीमिली बतिले दुलही झै सजाइएका छठ घाटहरु यति खेर व्रतालु तथा दर्शनार्थीहरुको लागी तयार छन । यीनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिने छन ।
संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्ममनाइने यो पर्वको आज तेश्रो दिन सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साझ अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिनेछ ।
३६ घण्टा लामो निर्जल व्रत शुरु
हिजो बेलुका माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । हिजो बेलुका पूजा पश्चात खाएको प्रसाद को भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान सूर्यलाई अर्घ दिएपछि मात्र अन्न जल ग्रहण गर्नेछन । लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन । नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै भोलि बिहिवार बिहान उदाउदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ ।
तराईमा सबै भन्दा बढी श्रद्धा भक्तिका साथ मनाइने भएको ले यो पर्वलाई महापर्व पनि भनिन्छ । छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ती हुने र परीवारमा सुख शान्ती छाउने विश्वास रही आएको छ ।रौतहट जिल्लाको सदरमुकाम गौर लगायत गंगा पिप्रा, शिवनगर, गरुडा, कटहरीया तथा चन्द्रनिगाहपुरका लाखौं व्रतालुहरुले भक्तिभावका साथ आज अस्ताउदो सूर्यलाई अर्घ दिनेछन ।
धार्मिक मान्यता
चार दिन सम्म चल्ने छठ पर्वको कार्तिक शुक्ल चतुर्थी बाट शुरु भई कार्तिक शुक्ल सप्तमीमा समपन्न हुने गर्दछ । त्रेतायुगमा भगवान राम ले लंका विजय गरे पछि रामराज्य स्थापना को दिन कार्तिक शुक्ल षष्ठीका दिन भगवान राम र देवी सीता ले व्रत बसेर सूर्य देवको पूजा गरेको र भोलि पल्ट सप्तमीका दिन पुनः बिहान उदाउदै गरेको सूर्य लाई पूजा गरेर आशीर्वाद लिएको ले सोही दिनमा छठ पूजा गर्ने चलन चलेको पौराणीक मान्यता रहेको छ । छठ व्रतको बारेमा विष्णु पुराण, भागवत पुराण, ब्राहावैवर्त पुराण, देवी पुराण आदि प्राचिन धर्म ग्रन्थहरुमा समेत उल्लेख गरीएको छ ।
यसै गरी महाभारतकालमा कर्णले सूर्य देवको पूजा गरेको, यसैकालमा पांडव पत्नी द्रौपदीले सूर्य पुजा गरेकोले पनि छठको महत्व रहेको पाइन्छ । यसै गरी प्राचिनकाल मै राजा प्रियंवदले पनि सन्तान प्राप्तीका लागी षष्ठी व्रत गरे पछि पुत्र प्राप्त भएको धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ ।