रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते दुईजनाको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढाको मृत्यु भएको हो । बालक बुढाको उपचारका निम्ति एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको पनि अवस्था गम्भीर रहेको छ । गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकोप्टर आउन लागेको र त्यसमार्फत थप उपचारका निम्ति घाइतेलाई काठमाडौं पठाउने तयारी प्रशासनले गरिरहेको छ । सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा जाने क्रममा चौरजहारी–८, गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी मानिस सवार भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय