भुकम्पपछिको चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । भूकम्पका कारण घर भत्केपछि त्रिपालमा बसेका पीडितले ज्यान गुमाएका हुन । कठ्यांग्रिँदो चिसोमा खुला चौरमा त्रिपालको भरमा रात बिताइरहेका भूकम्पपीडित विरामी हुने क्रम पनि बढेको छ ।

जाजरकोटमा चिसोका कारण छेडागाड–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे –४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, भेरी–४, तल्याउनका केशव भडेल, भेरी–२ का ८८ वर्षीय धुलेश्वर कार्की तथा एक महिने बालिका निरुता पुनको मृत्यु भएको हो । यसैगरी चिसोका कारण नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, ८४ वर्षीय गोपालबहादुर रावल र वडा नम्बर ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, बारेकोट बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भएको छ ।

बारेकोट –१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह, कुशे गाउँपालिका–५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीया गथु शाहीको पनि चिसोका कारण मृत्यु भएको छ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम–पश्चिममा गरी १ सय ५४ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोटका ९ हजार ७ सय १४ घर पूर्ण रुपमा क्षति पुगेको छ । सात स्थानीय तह रहेको जाजरकोटमा ९ हजार १८६ घरधुरीका ६७ हजार १ सय ७४ परिवार विस्थापित भएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय