काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ स्थित भैरब गुठी संरक्षण समितिले नगरप्रमुख घनश्याम गिरीलाई दुई बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

समितिले वैदेशिक सहयोगको प्रलोभनमा नेवार समुदायको कला, संस्कृति र परम्परागत रितिरिवा माथि धावा बोलिएको र त्यस्तो गतिविधिलाई तत्काल रोक्न भन्दै ज्ञापन पत्र बुझाएको हो । गुठी संरक्षण समितिका अध्यक्ष लक्ष्मी बहादुर महर्जनले पछिल्लो केही वर्ष देखि चन्दन भराटेश्वर अर्थात महादेव गाउँमा केही देशी विदेशी शक्तिले कब्जा गरी धार्मिक आस्था र सहिष्णुता खल्बल्याई स्थानीयबीच नै सम्प्रदायीक हिंसा गराउन खोजेको भन्दै प्रमुख गिरीको ध्यानाकर्षण गराउनु भयो । उहाँले आफ्नो समुदायको बीच भागमा रहेको उक्त स्थान बाबु–बाजेदेखी संरक्षण गर्दैआएको र अहिले स्थानीय सरकारले विनियोजन गरेको बजेटबाट आफ्नो समुदायको गुठी भवन बनाउन खोज्दा बाहिरि व्यक्ति आएर रोकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । अध्यक्ष महर्जनले उक्त स्थानमा विना रोकतोक निर्वाध रुपमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि सहजरुपमा वातावरण तयार गरिदिन पनि आग्रह गर्नुभयो ।

नगरप्रमुख घनश्याम गिरीले ज्ञापन पत्र बुझ्दै चन्दन भराटेश्वर ६४ पिठ मध्ये एक पिठ भएकोले त्यो स्थान नगरकै शान भएको बताउनु भयो । उहाँले यो प्रशिद्ध स्थानलाई हामीले संरक्षण र प्रचार गर्न नसक्दा मन्दिरको महत्व र विशेषता ओझेलमा परेको उल्लेख गर्नुभयो । प्रमुख गिरीले नगरको सामान्य सहयोगले मन्दिर क्षेत्रको स्तरोन्नती सम्भव नहुने र विदेशी राष्ट्रले दिएको सहयोगलाई पनि नर्कान नहुने भन्दै दुबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले पहिले अधिकांश जग्गा गुठीको भएको र अहिले त्यस्ता जग्गाको संरक्षण नहुँदा विभिन्न व्यक्तिको नाममा पुगिसकेको भन्दै जग्गा संरक्षणमा स्थानीयको प्रमुख भूमिका रहेकोले स्थानीयको मागलाई सम्बोधन हुने गरी काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

यसअघि वडा नम्बर ६ का अध्यक्ष संजय सिग्देललाई पनि वडाबासीले ज्ञापन पत्र बुझाएका थिए । मन्दिर पुनःनिर्माण, मन्दिर वरपर भौतिक संरचनालगायत कार्यका लागि पहिलो किस्ता स्वरुप भारतीय दुतावासले उक्त स्थानमा ५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय