रुद्रायणी देवी जय महाँ माई सिकाली देवी भवानी
स्वेत वर्ण रुप अतिन सुन्दरी हे
हिराया मतुक–२ कावने सिलमाल–रुद्रायणी……
रुद्र अर्थात् गर्जनलाई सृष्टिको शुभारम्भ भनिन्छ । वैज्ञानिकहरुले यसलाई ‘विग ब्याङ्क’ भन्छन् । गर्जनको प्रभाव वा शक्तिलाई रुद्रायणी भनिन्छ । ब्रमाण्डमा कैयौं पटक गर्जन, प्रलय भएको मानिन्छ । यसैको प्रतिकात्मक रुपमा सृष्टिचक्र बुझ्न र बुझाउन पूर्वीय दर्शनले रुद्र र रुद्रको शक्ति रुद्रायणीको उपासना गर्न थालियो । मणिपुर चक्र रुद्र निवास गर्ने स्थान हो । ‘रं’ वीज मन्त्र यसको जागरण गर्ने विद्या हो । यसले अग्नी स्थापना गर्दछ । अग्नीले शरण पर्न आएकोलाई डढाउँदछ । तसर्थ अग्नी तत्वलाई बुझ्ने, लाकिनी शक्ति स्वरुपलाई ग्रहण गर्ने, कला र पक्षको रुपमा रुद्र र रुणायणीलाई लिने गरिन्छ ।
शैव र बौद्ध धर्मसँग सम्बन्धित यो रुद्रायणी नाच अति प्राचिन नाचहरुमध्येको एक नाच हो । शिवको एकादश रुपमध्ये प्रलयकारी रुपको रुद्रलाई लिंदै काठमाडौं नगरको मध्योत्तर शिवपुरीबाट बगेर वाग्मतीमा मिल्न पुग्ने खोला (धोवी खोला) नजिक, लगंखेलबाट पञ्चनन्दीश्वरको बाटो भई बुङ्गमती जाँदा बीच बाटोको नख्खु खोला तरेपछि एक यस्तो डाँडाको स्वरुप अगाडी आउँछ जुन घरको भित्तामा बनाएको खोपा जस्तो लाग्दछ । त्यसैले यो डाँडाको माथि अवस्थित बस्तीयुक्त स्थानलाई नेपाल भाषामा ग्वाखचो अर्थात् खोपाको सिरान भन्ने गरेको पाइन्छ । हाल यस स्थानलाई भैसीपाटी भनिन्छ । यो इलाकासँग जोडिएको चर्चित ग्राम हो ख्वना (ख्व ख्वं गां) (खोकना) । खोकना गाउँबाट खोकनाको आराध्यदेवी रुद्रायणी श्रीकाली जसले ललितपुर शहरलाई ८ दिशाबाट घेरी संरक्षण प्रदान गरिराखेकी अष्टमातृका देवीहरुमध्येकी यिनी श्रीकाली देवी हुन् । जसको अपभ्रंस भई यहाँको जनजीब्रोमा यिनी सिकाली नामले प्रचलित छिन् ।
देवमाला बंशावलीअनुसार नेपाल संवत् ६३३ (वि.सं. १५७०) राजा अमर मल्लले ७ सय घर भएको खोकना ग्राम बसाई रुद्रायणी देवीको मन्दिर बनाउन लगाएको र गणसहित देवीको नाच नचाउने चलनसमेत चलाएको बंशावलीमा उल्लेख छ ।
नेपाल सम्बत ८८३ मा जितापूरा स्थान अन्तर्गत खोकनाको अभिलेखमा ‘ऊँ नमः श्री रुद्रान्यै देव्यैः’ भनि सुरुवात गरी रुद्रायणी देवीको महिमा गाइएको पाइन्छ । त्यस्तै ने.स. ८७९ मा खोकनाको लाछिटोल जितापुरा देवतामा रहेको शिलालेखमा पनि ‘ऊँ नमः श्री रुद्रान्यै देव्यैः’ भनि रुद्रायणी देवीको सम्बोधन गरिनुले यसको प्राचिनताको पुष्टाई गर्दछ । रुद्रगण (शिवका पार्षद्) सहित ल्होंखामा ललितपुर जिल्ला, खोकनाको श्री रुद्रायणी गुठीले लिएर आई देखाउने एक महत्वपूर्ण ऐतिहासिक र परम्परागत बाह्र वर्षे नाच हो रुद्रायणी देवीको नाचको रुपमा लिइन्छ । यो नाच सानो खोकना, बुङ्गमती हुँदै पाटन डबलीबाट कीर्तिपुर, मातातीर्थको ल्होंखा अनि बसन्तपुर डबली वरिपरि विभिन्न स्थानमा देखाई समापन गरिन्छ ।
रुद्रायणी नाच कति पुरानो हो भन्ने बारे किटानको साथ भन्न सकिदैन । ऐतिहासिक सामग्रीहरु खासै भेटिएको छैन । तापनि यसको चलनचल्ती उत्तर लिच्छविकाल तिर भएको अनुमान गरिन्छ । देवमाला बंशावलीअनुसार नेपाल संवत् ६३३ (वि.सं. १५७०) राजा अमर मल्लले ७ सय घर भएको खोकना ग्राम बसाई रुद्रायणी देवीको मन्दिर बनाउन लगाएको र गणसहित देवीको नाच नचाउने चलनसमेत चलाएको बंशावलीमा उल्लेख छ । रुद्रायणी नामक थ्यासफुमा यो नाच किरातकालदेखि नै चलिआएको पाइन्छ । उक्त थ्यासफुमा नाच विष्णुदेव मल्लको पालामा एक पल्ट बन्द भएर पुनः प्रचलनमा आएको व्यहोरा पनि उल्लेख छ । कहिले कुन राजाको पालामा कसरी यसको पुर्नउत्थान भयो भन्ने बारे केही उल्लेख पाईदैछ । थ्यासफुकै अन्तिम पानामा रुद्रायणी नाच प्रथम गुरु धिरज नरसिंह आजुले ने.स. १६५ मा यो नृत्य नाटक लेखेको र आश्विन शुक्ल षष्ठीका दिनदेखि नचाउने चलन चलेको व्यहोरा छ ।
४६ जना देवगणहरुमध्ये १४ जना मुकुट धारण गर्ने देवताहरुद्वारा विभिन्न मन्दिर र शक्तिपीठहरुमा गएर शक्तिको आह्वान गरिन्छ । यसै प्रसंगमा नाचटोली पाटनबाट काठमाडौं प्रवेश गर्दा प्रायः रात हुने हुनाले हातमा बल्दो चिराग लिएका स्थानीय श्रद्धालु भक्तहरुको समूहले देवदेवी नै सम्झिएर सो गणलाई ठूलो स्वागत गर्दछन् । नाच टोली काठमाडौं पस्नु भन्दा पहिले पचली भैरबमा गएर भैरबको दर्शन गर्ने गर्दछन् । यहाँनिर रुद्रायणी देवी र भैरबसँगको भेट विचारणीय छ । त्यसपछि रुद्रायणीलगायत सारा गणको विधिवत पुजा हुन्छ । त्यसपछि मात्र नाच टोलीका सदस्यहरुले पोशाक र मुकुट लगाएर आ–आफ्ना अस्त्र–आयुध धारण गरि अघि बढ्दछन् । यो नाच टोलीमा रुद्रायणी, महादेव, गणेश, कुमार, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिहिनी, व्याघ्रिनी, घाँद्यो (स्याल), खिचाद्यो (कुकुर), हय्खासुरदैत्य (महिषासुर) र लाखे गरी १४ जनाको टोली रहन्छ । यो नाच टोलीमा महिला सहभागी हुन नपाउने प्रचलन छ । यसैगरी लोंहकोटमा नाच ल्याउँदा पनि सिकाली चौर, चोभार जलविनायक हुँदै भव्यरुपमा देवगणकै झझल्को दिने गरी स्वागतका साथ ल्याउने गरिन्छ ।
यो नाच टोलीका सबै सदस्यहरुले जीवनभर द्राह्री, जुंगा र कपाल पाल्नै पर्ने, नाचको काममा रहुञ्जेल सेतो पगरी, जामा र भोटो पनि लगाउनै पर्ने, जुत्ता लगाउन नहुने चलन रहेबाट पहिले पहिले समाजमा यिनीहरु विशिष्ट, प्रभावशाली एवम् सम्मानित व्यक्तित्वको रुपमा रहेको अनुमान गर्न सकिन्छ । खोकनाबाट १ सय भन्दा बढी व्यक्तिले व्यवस्थित रुपमा नाच टोलीलाई खाली खुट्टा पैदल हुँदै काँ, नाय खिँ बजाउँदै जुगी, दमाई, नौ, रथ बोक्ने, झण्डा बोक्ने, सुकुन्दा समात्ने, स्वयम्सेवक आदि दलबलसहित ल्होंखा ल्याउँदछन् । ल्होंखास्थित सिकाली डबलीमा उक्त नाचको प्रदर्शन हुने गर्दछ ।
तत्कालित गाविस र समितिबीच भएको छलफल पश्चात खोकनास्थित सिकाली प्याँखका (रुद्रायणी गुठी) गुठियारहरुसँग निरन्तर पत्रचार र छलफल चल्यो । उल्लास र खुशीमय निष्कर्षका साथ पुनः १ सय ३० वर्षपछि लोंहकोटमा सिकाली प्याँख नचाइने भइयो ।
रुद्रायणी गुठीयार र गुठीको कजीको भनाईअनुसार कीर्तिपुरको पाँगामा खोकनाको सिकाली नाच देखाइरहेको बेला ल्होंखाबाट दुई जीउ (गर्भवती) भएकी आईमाई (ल्होंखाको ननी) त्यस नाच हेर्न पुगिछिन् । तान्त्रिक विधिबाट पूजाआजा गरी बाध्यबादनको तालमा देखाइरहेको उक्त नाच हेर्न हराजौं मानिस जम्मा भईरहेकोले ननीले उक्त भीडबाट नाच हेर्न सकिनन् । नाच हेर्न नसकेपछि ननीले त्यस नाच देखाउने मुख्य कजीलाई यो नाच हाम्रो देश लोंहकोटमा पनि लान मिल्छ कि ? भनि सोधिछिन् । उक्त कजीले आफ्नो तान्त्रिक ध्यानीबाट हेर्दा कुनै असर नपर्ने भएपछि मिल्छ भनेर उत्तर दिएछन् । र त्यसबेला त्यस नाच देखाउन लाग्ने सम्पूर्ण खर्चहरु गर्भवती महिला वा ननीले खर्च गरेको भन्ने पाइन्छ ।
पाश्र्वचित्रको उपज सिकाली प्याँख:
झण्डै लोंहकोटबाट लोप भइसकेको सिकाली प्याँख (रुद्रायणी देवी नाच) को पुनः प्रचलनमा आएको रमाइलो र अनुभवजन्य किस्ताको स्मरण गर्न पाउँदा आनन्द कस्लाई नलाग्ला र ! विसं. २०६६ साल साविक मातातीर्थ गाविसको सचिव श्री लोमश आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले स्तरीय पाश्र्वचित्र निर्माण गर्ने भनि निर्णय गर्यो । पाश्र्वचित्र निर्मार्ण कार्यको निर्णय पश्चात तीब्र रुपमा गाविस स्तरीय भेटघाट, सुझाव संकलन तथा ज्येष्ठ नागरिकहरुसँग यहाँको इतिहास, संस्कृति र स्थान विशेष नाचहरुको सोधनी गर्न अन्र्तवार्ता लिन कामको शिलशिलामा ऐतिहासिक विजयपुर अर्थात लोंहकोटमा आदरणीय नारायणकृष्ण श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ र आशाराम श्रेष्ठको मा अन्तरवार्ता लिन पुगियो । उहाँहरुसित लोंहकोटको इतिहास सोध्दै जाँदा ‘सिकाली डबली’ को प्रशंग आयो । लोंहकोटमा भएको डबलीलाई ‘सिकाली डबली’ भन्ने प्रचलन रहेछ । ‘सिकाली डबली’ किन भनेको ? प्रश्नको उत्तरमा लोंहकोटका धरोहर मानिने हरिकृष्ण श्रेष्ठले ‘हाम्रो बाजेहरुको पालामा खोकनाबाट सिकाली प्याँख लेराई नचाउने गरेको, हामीले त देखेनौं, थाहा पाएनौं, बाजेले बालाई बाले हामीलाई भन्नुभएको मात्र थाहा छ । अन्दाजी १ सय ३० वर्ष भन्दा बढी भयो होला यो नाच यहाँबाट लोपभएको’) उहाँको जवाफ थियो । राती ११ बजे यस्तो प्रसंग सुनेपछि मन रोमाञ्चित भयो । सिकाली के हो त ? बुझ्न भोलिपल्टै सर्वदलिय सदस्य रत्नलाल श्रेष्ठसँग खोकना पुग्ने काम भयो । खोकनामा एक स्थानीयले भने ‘काष्ठकलाले पूर्ण भएको सिद्द कालीको कलात्मक र प्राचिन मूर्ति भएकोले सिकाली भनेको हुन सक्ने बताउनु भयो । उहाँले थप्नु भयो यसलाई श्रीकाली पनि भन्छन् ।’ यतिले मात्र हाम्रो चित्त बुझेन । अध्ययनकै शिलशिलामा रुद्रायणी मन्दिरको अवलोकन पश्चात रुद्रायणी गुठिका गुठियारसँग भेटघाट गर्न पुग्यौ । गुठियारबाट स्वतन्त्र विश्व पत्रिका वि.सं. २०३२ सालमा प्रकाशित लेखको छायाँकपि, साथै लिधंसा पासा पुचःले निकालेको लेख रुद्रायणी नाचको परिचय प्राप्त भयो । यी पत्रिकाहरुको अध्ययन पश्चात मातातीर्थ गाविसका कार्यालयमा यस बारेमो घनीभूत छलफल भयो । सिकाली डबली मर्मत हुन पुग्यो । लोंहकोट र वरपरको बस्तिमा यो जात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वको बारेमा थप छलफल हुन थाल्यो । स्वतन्त्ररुपमा विभिन्न व्यक्ति व्यक्तित्वहरुले यस बारेमा खोजविन गर्न थाले । लोंहकोटको सज्जन जनसमूदायमा सकारात्मक प्रभाव पर्यो । प्रभावले युवा, महिला र ज्येष्ठ नागरिकको बीचमा छलफल सुरुवात गरायो । सिकाली प्याँख प्रति बहुत अभिरुचि भएका धर्मानन्द श्रेष्ठको अध्यक्षतामा एक समिति बन्यो । तत्कालित गाविस र समितिबीच भएको छलफल पश्चात खोकनास्थित सिकाली प्याँखका (रुद्रायणी गुठी) गुठियारहरुसँग निरन्तर पत्रचार र छलफल चल्यो । उल्लास र खुशीमय निष्कर्षका साथ पुनः १ सय ३० वर्षपछि लोंहकोटमा सिकाली प्याँख नचाइने भइयो । लोंहकोटका भुयु महर्जन, भुइचा श्रेष्ठ, जुजुमान श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बेखालाल महर्जन, मोतिकाजी श्रेष्ठ, रामकाजी श्रेष्ठ, सुनमाया श्रेष्ठ, मेरिना पलाञ्चोकेको चाखलाग्दो सक्रियतामा यो प्याँख वि.सं. २०६८ फागुन १४, १५ र १६ गते बहुआयामिक ढंगबाट सम्पन्न भयो ।
निष्कर्ष:
देवदेवीहरुको सत्रु मानिने दैत्यपक्ष भनि चिनिएका तत्कालिन समयका असुर बंश जसले आफ्नो राज्य गुमायो । तिनलाई दमन गर्दै राज्य जितेको खुशीमा पुस्तानान्तरणका लागि जितेकाहरुले आफ्नो इतिहास बनाउन यो प्रचलन चलाईको अनुमान गर्न सकिन्छ । महिषासुर असुरबंशका शासक थिए । महिषासुरको बधपछि दानवकरण गर्दै उनीहरुको बंशजलाई माथि उठ्न नदिने मनोविज्ञानको साथमा निरन्तर जात्राको रुपबाट चेतावनी दिंदै आएको पाइन्छ । यही जात्रामा राममायणका कथा, महाभारतका कथा, स्वस्थानीका कथालाई नाटकीय ढंगबाट प्रस्तुत गर्ने गरिन्छ । श्रीकाली (रुद्रायणी), इन्द्रायणी, महालक्ष्मी प्राचिन समयका नारी हुन् । जसलाई मातृसत्ताको झझल्को रुपमा लिइन्छ । वर्तमान समायमा भवानीको रुपमा समाजले उनीहरुलाई पुज्दै आएका छन् । १ सय ३० वर्षपछि वि.सं. २०६८ साल फागुनमा ल्याएको यो सिकाली (रुद्रायणी) नाच पुनः १२ वर्ष बेतिथ गरेपश्चात वि.सं. २०८० फागुन ६, ७ र ८ गते चन्द्रागिरि नगरपालिकास्थित वडा नम्बर ८ लोंहकोटमा हुँदैछ । १ सय ४२ वर्षपछि दोस्रो पटक हुन लागेको गर्विलो सास्कृतिक इतिहास बोकेको यो नाचले जीतापुर खोकना र विजयपुर लोंहकोटबीच आपसी साईनो झन् मजबुत पक्कै हुनेछ । समन्वयात्मक सस्कृतिको जर्गेनामा सबै पक्ष एकजुट भई लाग्न जरुरी छ ।