अर्घाखाँची- तीन, चार जना बृद्ध महिलाहरु चामलको पीठो मुछ्दै थिए । भुटेको चामलको पीठोमा घ्यूमा फुराएको बेसार राखेर, मरिच मिसाउदै घ्यू र खुदो पानीले पिठो मुछ्दै थिए । एकै छिनमा भलाये गाउँदै महिलाहरुले कसार बटार्न थाले । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ४ बैकुण्ठपुरी संग्रहालयमा आज बुधबार दिउसो देखिएको दृश्य थियो । महिलाहरुले कसार बनाएको तरिका सिक्दै थिए जीवनोद्धार माध्यमिक विद्यालय सन्धिखर्क ४ र पार्वती आधारभुत विद्यालय सन्धिखर्क १ का विद्याथीहरु ।

विद्यार्थीहरुलाई विबाह र ब्रतबन्धमा बनाइने कसार बनाउन मात्र हैन् । सुत्केरी, चोटपटक लागेर घाइते भएका विरामीलाई खुवाउन बनाइने ओखती पिठो पनि बनाउन सिकाइएको थियो । ओखती पिठोलाई अर्घाखाँचीमा ओक्ते पिठो र सम्फे पिठो पनि भन्ने गरिन्छ । भुटेको चामल पिसेर पीठो बनाएपछि सम्फो, पखाने, पर्से जस्ता जडिबुटीहरु मिलाएर घ्यूमा भुटेर बनाइने ओखती पीठो पनि बनाएर विद्यार्थीहरुलाई सिकाईको थियो ।

ज्येष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई कसार बनाउन र ओखती पिठो बनाउन सिकाईएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष नीमबहादुर रिजालले बताए ।

नेपाल सरकार महिला बालबालिका तथा ज्येठ नागरिक मन्त्रालयको आयोजनामा बृद्ध बृद्धाहरुमा भएको सीप नयाँ पिढीका युवाहरुमा हस्तानतरण गर्न र जानकारी दिनका लागि यो कार्यक्रम सञचालन गरिएको थियो । पुराना पुस्ताले प्रयोग गरेका सामाग्रीहरु रहेको बैकुण्ठपुरी संग्रहालयमा विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम संगै कसार बनाउन र ओखती पिठो बनाउन सिकाईएको महिला बालबालिका तथा ज्येठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहालले बताएका छन् । अहिलेका बालबालिका र युवा पुस्तामा पुराना पुस्ताले प्रयोग गरेका र पुराना ज्ञानहरु नभएकाले यस्ता सीपमुलक तथा जानकारीमुल कार्यक्रमहरु प्रभावकारी हुने जिल्ला समन्वय समिति अर्घाखाँचीका निबर्तमान प्रमुख पिताम्वर शर्माले बताए ।

उनले अहिलेको बालबालिकाले पुराना कुराको जानकारी पाउनु पर्ने अहिलेको आबश्यक्ता रहेको बताएका छन् । कसार र ओखती पिठो बनाउन सिकेपछि विद्यार्थीहरु पनि खुशी भएको जीवनोद्धार माध्यमिक विद्यालयका प्रधनाध्यापक नामबहादुर सिंह रानाभाटले बताए । उनले यस्ताखाले सीप सिकाउने कार्यक्रमहरु स्थानीय सरकारको पहलमा सबै विद्यालयहरुमा सञ्चालन गर्न आबश्यक रहेको जानकारी दिएका छन् । किताबी ज्ञान संगैव्यवहारिक ज्ञान आबश्यक रहेको सन्दर्भमा यस्ता खाले सिप सिकाउने कार्यक्रमहरु बढी प्रभावकारी हुने पार्वती आधारभुत विद्यालयका शिक्षक गोपाल प्रसाद पन्थीले बताए ।

वांगलाको आमडाडामा स्थापित बैकुण्ठपुरी संग्रहालयमा लोप हुने अबस्थामा रहेका पुराना भाडाकुडा तथा प्रयोग गर्ने सामानहरु राखिएको छ । नेपाल पत्रकार महांघका पुर्ब अध्यक्ष समेत रहेका पत्रकार निमबहादुर रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीलले बाबु बाजेले प्रयोग गरेका पुराना बस्तुहरुको लोप हुन थालेको र भावी पुस्तालाइ सो कुराको जानकारी समेत नहुने भएकाले संग्रहालय बनाएर पुराना बस्तुहरु संकलन गरे संग्रहालयको स्थापना भएको हो ।

संग्रहालयमा अहिलेका पुस्ताले नदेखेका र बाबु बाजेले जिवनयापन गर्दा अपनाएका बस्तुहरु राखिएको छ । संग्रहालयमा पुग्दा बाबुबाजेले प्रयोग गरेको जीवनशैली प्रष्ट रुपमा देख्न सकिन्छ । कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोहि पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी राखिएको बैकुण्ठपुरी संग्रहालयका ब्यबस्थापक उमा रिजालले बताउनुभयो । उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने झातो, खेतवारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दुध निकाल्ने डाडु, काठका चप्पल लगायतका बस्तुहरु संग्राहलयको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

“बाबु बाजेले प्रयोग गरेका पुराना बस्तुहरुको लोप हुन थालेको र भावी पुस्तालाइ सो कुराको जानकारी समेत नहुने भएकाले संग्राहलय बनाएर पुराना बस्तुहरु संकलन गरिएको हो । पानी आउदा ओढुने सिउ, धर्मसालामा राखिने घैटो , भजनमा बजाउने खैजडु, डाला, सुपा , तमाखु खान प्रयोग गरिने, हुका, चिलिम, पुराना टेपरेकर्ड, भोटे ताल्चा, दाउ, बाँसको कागियो लगायतका थुप्रै बस्तुहरु संग्राहलयमा राखिएको छ । रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रुपमा रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय