भैरहवा – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसीएमएस) भैरहवामा थ्री टेस्ला एमआरआई सेवा सुरु भएको छ । अस्पतालले लुम्बिनी प्रदेशमा नै पहिलोपटक थ्री टेस्ला एमआरआई सेवा सुचारु गरेको सूचना अधिकारी सुशील गुरुङले जानकारी दिए । उनले यो सेवा सुचारु भएसँगै बिरामीहरुले अब सहजै रुपमा यहीबाट विभिन्न सेवाहरु प्राप्त गर्ने तथा थप समय र पैसा खर्च गरेर टाढा जानुपर्ने बाध्यता हटेको बताए । अस्पतालले यो सेवाको खरिद तथा स्थापनाका लागि करिब १८ करोड लगानी गरेको पनी गुरुङले जानकारी दिए ।

एमआरआई सेवाको आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गरेका छन । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा. सदन मुखीले अस्पतालले सुचारु गरेको थ्री टेस्ला एमआरआईमा विकिरणको जोखिम नभएको र विश्व प्रसिद्ध अत्याधुनिक नयाँ मेशिन भएको दावी गरे । उनका अनुसार अत्यन्त कम समयमा उच्च गुणस्तरयुक्त भरपर्दो रिर्पोट, शरीरको कुनै पनि भाग अवलोकन गर्न सकिने तथा मस्तिष्क, मेरुदण्ड, प्रोष्टेट, स्तन आदिको स्क्यानको लागि अत्यन्त उपयोगी रहेको छ ।

उक्त मेसिनबाट शरीरमा भएका एकदमै स–साना कोशिका, नशा, गाँठ, हाड, जोर्नी, ट्युमरहरु पनि सहजै अवलोकन गर्न सकिने तथा क्यान्सर रोग तथा यसको फैलावट सहजै पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ ,युसीएमएसका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्याल,युसीएमएसकी प्राचार्य प्रा.डा. लक्ष्मी पाठक,सूचना अधिकारी सुशील गुरुङ लगायतले आ आफनो भनाई राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय