![](https://ournewscrew.com/wp-content/uploads/2024/03/4-1.jpg)
काठमाडौं – चन्द्रागिरि नगरपालिका वडा नम्वर–८ मा निर्माणाधिन एउटा पुलको अहिले व्यापक चर्चा छ । वडा नम्वर–६ मातातीर्थबाट वडा नम्बर–८ को खरिबोट–नागस्थान मार्ग जाने पुलको बनोटको कारण नकारात्मक चर्चा भएको हो । उक्त स्थानमा रहेको खोलामा वर्षायाममा धेरै परिणामको पानीको बहाब हुने गर्छ भने अन्य समयमा पानी देखिदैन । पञ्चायतकालमा नै उक्त खोलालाई ग्याविन जाली लगाएर खोला गहिरिन नदिने र खोलाबाट कुलो बनाइ सिचाई गर्ने गरी कुलो निर्माण भएको थियो । पछिल्लो समय सो स्थानमा बस्ती बढ्दै गयो । उक्त स्थानमा बाटो र खोलाको तह एउटै भएकाले वर्षायामको केहीदिनमा उक्त बाटो हुँदै आवतजावत गर्न असहज हुन्थ्यो । त्यसैले स्थानीयले उक्त स्थानमा बाह्रैं महिना आवतजावत गर्न सहज हुने गरी सडक स्तरोन्नती गरिदिन र आवश्यकता अनुसार पुल निर्माण गरिदिन स्थानीय तह मुलतः वडा नम्बर–८ मा योजनाको लागि बजेट माग गरे ।
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/nagarpalika-new.gif)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/gengu-new.jpg)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/anugaman-add.gif)
वडाले पुल निर्माणका लागि भन्दै ५ लाख बजेट छुट्यायो । ५ लाखले योजना सम्पन्न नहुने भएपछि एक वर्ष कुरेर थप ५ लाख बजेटको माग भयो । अन्ततः पुल निर्माणको लागि १० लाखको बजेट बन्यो । सो बजेटले पनि पुल निर्माणमा अपुग हुनेभएपछि स्थानीयले नगरपालिकाको कार्यालयमा बजेट माग गरे । उक्त स्थानको बस्तुस्थिति जाहेर गर्दै नगरले कुनै पनि हालतमा बजेट थप गर्नुपर्ने भन्दै दबाब दिए । अन्तत नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ बाट थप १० लाख बजेट उक्त योजनाको लागि विनियोजन गर्यो । २० लाखको योजना कार्यान्वयनका लागि नगरपालिका टेण्डर प्रकृयामा गयो र ग्यालेक्सी बिल्डर एण्ड सप्लायर्स प्रा.लि.ले उक्त पुल निर्माणको लागि १३ लाख १२ हजार ३ सय ५१ रुपैयाँ लागतमा २०८१ असार १५ गते सम्म सम्पन्न गर्ने गरी २०८० माघ ९ गते सम्झौता गर्यो ।
१. लागत बढ्यो
काम सुरु भयो । अहिले पुल निर्माणको काम धमाधम भइरहेको छ । तर, अच्चमको कुरा त के छ भने पुलको लम्बाइ २२ फिट, चौडाइ १४ फिट छ । तर, उक्त खोलाको चौडाई भने मुस्किलले ७ फिट रहेको छ । पुल निर्माण गर्नु अघि इञ्जिनियरले खोला बगेको ५० मिटर तल माथिको क्षेत्रको बस्तु स्थिति मूल्यांकन नगर्दा पुल निर्माणमा अनाबश्यक लागत बढाइएको छ ।
२. इञ्जिनियरिङ फेल
पुल निर्माण हुँदै गर्दा स्थानीयले पुल जोखिमयुक्त हुँदैछ भनेर पटक पटक ठेकदार र इञ्जिनियरलाई सचेत गराएका थिए । यहाँसम्मकी वडा नम्बर– ८ का जनप्रतिनिधिले इञ्जिनियरिङ पार्ट सच्चाउन पटक पटक आग्रह गरेको तर इञ्जिनियरले नसुनेको बताउँछन् । अन्ततः अहिले मेनरोडमा जोडिने पुल मुख्य सडक भन्दा झण्डै ५ फिट अग्लो छ जुन दुर्घटनाको धराप थापिएको जस्तो हुनेमा कुनै दुई मत छैन ।
३. अनावश्यक संरचना बनाउनु पर्ने
पुल निर्माणका क्रममा पहिले बाटो र खोलाको तह एउटै भएको स्थानमा बाटो माथि नै पुल बनाइएको छ । स्थानीयले पहिले खोला गहिराएर अनि सडकको तहमा मिल्ने गरि पुल निर्माण गर्न सुझाब दिएका थिए । तर, पुल निर्माण गर्ने क्रममा इञ्जिनियर त आएनन् तर ठेकेदारले पहिला बसिसकेको खोलालाई नचलाउ भन्दै त्यहि बाटोमै जग हालेर ६ फिट हाइट राखि पुल निर्माण गरिदिए । पहिले यथास्थितिमा रहेको खोला अहिले पुल बनेपछि वर्षातमा आउने पानी छेक्न अन्य भौतिक संरचना निर्माण गर्नुपर्ने आबश्यकता देखिएको छ । ठेकेदारको मनोमानी अनुसार बनेको पुलको संरचनालाई स्थानीयले जोखिमयुक्त स्थान बनाइ पटक पटक नगरको बजेट ल्याएर कामलाई निरन्तरता दिने र कमाइखाने भाँडो बनाउने इञ्जिनियर र ठेकेदारको मिलेमतोको रुपमा बुझ्न थालेका छन् ।
४.पारदर्शीताको कमी
स्थानीयले पुल निर्माण संरचनाको इस्टिमेट पटक पटक माग गरेको तर नपाएको बताउँछन् । उक्त पुलको विवाद चर्कदै गएपछि हाम्रो टिम पनि पुल निर्माण हुँदै गरेको स्थानमा पुग्यो । हामी पुग्दा ठेकेदारहरु पनि त्यही थिए । हामीले पनि इस्टिमेट माग्यौ तर, उनीहरुले आफ्नो इञ्जिनियरलाई भेटेर लिन भन्दै पन्छिए । किन लुकाउन खोजियो इस्टिमेट ? यत्तिसम्मकी पुल निर्माणमा जुटेका कामदारले समेत इस्टिमेट कस्तो छ भन्ने नै थाहा छैन । ठेकेदारले जस्तो जस्तो गर भने उस्तै उस्तै गरिरहेको कामदारहरु बताउँछन् । पुल अस्वभाविक रुपमा धमाधम बन्न थल्यो । के कति बजेटमा बन्दै थियो कसैलाई थाहा थिएन यत्रतत्र कुरा उठ्न थालेपछि काम सुरु भएको धेरै दिन बितेपछि मात्र आयोजनाले सूचना पाटी राखेको स्थानीय बताउछन् । पुल निर्माणको रेखदेख गर्ने, आयोजना हेर्ने जिम्मा नगरपालिकाका प्राविधिकद्वय इञ्जिनियर रिवाज श्रेष्ठ र श्रीराम लामिछानेलाई दिइएको थियो । तर अहिले प्राविधिक त्रुटी देखिएपछि लागत बढाउने र अन्य संरचना निर्माण गर्नुपर्ने भन्दै इञ्जिनियरहरु आफ्नो बचाउमा लाग्न थालेका छन् । यहाँसम्मकी २२ फिट लम्बाइको पुल निर्माणमा एउटा पनि पिलर नभएको विषय कुरा उठाउँदा लुकुवा बिमहालेको ठाडो जवाफ समेत दिने गरेका छन् ।
जनताले रगत पसिना बगाएर तिरेको करको पैसाको दुरुपयोग हुनेगरी लागत बढाउने गरी गरिएको योजनाको जिम्मेवारी लिने कसले ? दण्ड र सजायको भागिदार को ? स्थानीयले प्रश्न गरिरहेका छन् । यसो त चन्द्रागिरि नगरपालिकाको कार्यपालिकाको भवनदेखि नगरको अधिकांश निर्माणको काम यही ग्यालेक्सी बिल्डर एण्ड सप्लायर्सले गर्दै आएको छ ।