काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । बुधबार एक विशेष कार्यक्रमका बीच बालश्रम मुक्त प्रमाणपत्र दिँदै बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले २०८१ साल भित्र चन्द्रागिरि नगरपालिकालाई नै बालश्रम मुक्त नगर घोषणा गरिने बताउनु भयो । उहाँले नगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमका लागि बजेट साथै कार्यक्रमहरु तय भएको जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र महर्जनले बालबालिकाको संविधान पद्धत हक अधिकारको सुनिश्चित गर्दै बालश्रम मुक्त वडा घोषणा गरिएको बताउनु भयो । बालबालिकाको मौलिक हकका लागि अब उप्रान्त कसैले पनि श्रमजन्य काममा लगाउन नपाइने वडाबासीले शपथ लिएसँगै ५ नम्बर वडा बालश्रम मुक्त वडा घोषणा भएको हो । यो सहित नगरपालिकाको ३ वटा वडा बालश्रम मुक्त वडा घोषणा भएको छ । नगरका ८ र १४ नम्बर वडा यसअघि नै बालश्रम मुक्त वडा भइसकेको र बाँकी १२ वटा वडालाई २०८० भित्रै बालश्रम मुक्त बनाइ चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य नगरपालिकाको छ ।

बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ । यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अब वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो ।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरेको थियो । बालश्रम मुक्त वडा घोषणा गर्नुअघि विभिन्न भेषभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो । र्यालीमा वडा नं. ५ मा रहेका स्कुल तथा महिला समूहहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालश्रम मुक्त घोषणा अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्था, विद्यालय, सञ्चारकर्मी, महिला स्वयमसेविकालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय