काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ ले आयोजना गरेको एक दिने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या आदिको स्कृनिङ्ग तथा व्यवस्थापन शविर सम्पन्न भएको छ ।

वडाको शहरी स्वास्थ्य केन्द्र (सिमचौर) मा भएको स्वास्थ्य शिविरमा २० देखि ७६ वर्ष सम्मका १ सय ८२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । नेपाल सरमाइकल क्यान्सर फाउन्डेसन, बनेपा, काभ्रेका स्त्री रोग विशेषज्ञ डा. कस्तुरी मल्लले विरामीको चेकजाँच गर्नुभएको थियो । चेकजाँचको क्रममा देखिएका सामान्य समस्या शिविरमै उपचार गरिएको थियो भने जटिल समस्या देखिएका विरामीलाई अस्पताल गई उपचार गराउन सल्लाह दिइएको कार्यवहाक वडा अध्यक्ष भुवन केसीले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण विरामीहरुको लागि औषधि निःशुल्क प्रदान गरिएको पनि जानकारी गराउनु भयो ।

उपचारको क्रममा ११ जनामा भिआईए टेस्ट पोजेटिभ देखिएपछि विरामीलाई थर्मोकोगुलेसन प्रविधिबाट उपचार गरिएको थियो भने स्तन क्यान्सरको अनुमानमा २ जनालाई अस्पताल गई उपचार गराउन सुझाव दिइएको थियो । त्यस्तै आङ्ग खस्ने रोग २ जनामा देखिएको चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ का शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक अशोक कुमार सिंहले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण गर्न आएका व्यक्तिहरुलाई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या कसरी हुन्छ र त्यसबाट बच्ने उपायको बारेमा पनि १०–१० जनाको समूह बनाई जानकारी गराइएको थियो । विहान १० बजेदेखि सुरु भएको शिविर मध्यान्ह ४ बजेसम्म संचालन भएको थियो ।

कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, चन्द्रागिरि नगरपालिकाको प्रशासन प्रमुख दामोदर रिजाल, नगरको स्वास्थ्य शाखा प्रमुखलगायतले शिविरको अवलोकन गर्नुभएको थियो ।

पाठेघरको मुखको क्यान्सरबाट बच्चे उपाय

– एचपीभि विरुद्धको खोप लगाउने
– नियमित रुपमा पाठेघरको मुखको परिक्षण गराउने
– सुरक्षित यौन सम्पर्क राख्ने
– महिनाबारी हुँदा सरसफाईमा ध्यान दिने
– धेरै जनासँग यौन सम्पर्क नराख्ने
– धुम्रपान÷मध्यपान नगर्ने
– २० वर्ष उमेर पुरा भएपछि मात्र विवाह गर्ने र बच्चा जन्माउने
– पाठेघर-यौन सम्बन्धी समस्या देखिएमा समयमै उपचार गराउने

पाठेघरको मुखको क्यान्सरका लक्षणहरु

असामान्य योनी रक्तस्राव :
– महिनाबारीको बीच बीचमा
– यौन सम्बन्धको समयमा वा पछि
– योनीबाट गन्हाउने पानी वा रगत आउनु
– सामान्य थकान लागिरहनु
– ढाड दुख्ने, तल्लो पेट दुखिरहनु
– दिशा, पिसाब गर्न अप्ठ्यारो हुनु
– तौल घट्दै जानु

पाठेघरको मुखको क्यान्सरको जोखिमहरु

– कम उमेरमा विवाह वा सानै देखि यौनसम्पर्क हुनु (२० वर्ष नपुग्दै)
– कम उमेरमा नै बच्चा जन्माउनु
– धेरै सन्तान जन्माउनु
– धेरै जनासँग असुरक्षित यौन सम्पर्क गर्नु
– धुम्रपान तथा मध्यपान
– पटक पटक गर्भपत गराउनु
– धेरै वर्षसम्म गर्भनिरोधक चक्कीको प्रयोग
– महिलाहरुमा एच.आई.भी. संक्रमण हुनु
– महिलामा कुपोषण हुनु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय