काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा रहेको भालेश्वर मन्दिरमा फागु पूर्णिमाका दिन विशेष पूजाआजा हुने भएको छ ।

प्राचिन संस्कृति र परम्पराको जर्गेना गरौं, ऐतिहासिक भालेश्वर मन्दिरको संरक्षण गरौं भन्ने नाराका साथ प्रत्येक वर्ष फागु पूर्णिमाको दिन चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएको छ । परापूर्वकालदेखि नै हालको चन्द्रागिरि नगरपालिका वडा नं. ३, ४, ६, ७ र ८, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का स्थानीयवासिन्दाले हरेक वर्ष फागु पूर्णिमा (होली) का दिन भालेश्वर मन्दिरमा विशेष पूजाआजा गर्दै आएका छन् ।

पछिल्लो समय चन्द्रागिरि हिल्सले यहाँको भालेश्वरको इतिहास बंग्याएको र भालेश्वरको अर्को मन्दिर बनाई आफुहरुले मान्दै आएको भालेश्वरलाई ओझेलमा पारी भ्रम छर्न खोजेपछि स्थानीयले इतिहास संरक्षणको लागि चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समिति बनाएका हुन् । समिति र चन्द्रागिरि हिल्सबीच अहिले यही विषयमा तिक्तता बढ्दै गएको छ । स्थानीयहरुको सहभागितामा गठन भएको समितिले संस्थागतरुपमा वर्षेनी फागु पूर्णिमाको दिन भालेश्वर मन्दिरमा पूजाआजा गर्दैआएको छ । सोही पूजालाई निरन्तरता दिँदै यसवर्ष पनि समितिले विशेष पूजाआजाको कार्यक्रम राखेको हो । समितिले भोलि आइतबार अर्थात् फागु पूर्णिमाका दिन विहान ८ बजे च.न.पा. ४ स्थित महालक्ष्मी चौरमा भेला भई पूजाका लागि चन्द्रागिरि प्रस्थान गर्ने पनि जनाएको छ ।

भालेश्वर मन्दिरमा पूजाआजाका लागि सम्बन्धित वडामा रहेका विभिन्न बाजागाजा, झाँकी, स्थानीय भेषभुषासहित जाने प्रचलन छ । परापूर्वकालमा पानी नपरेर खडेरी परेपछि यहाँका स्थानीयले पानी माग्न यो मन्दिरमा गई पूजाआजा गरेको र पूजा गरेपछि पानी परेको बुढापाकाहरुको भनाइ छ । यसैको निरन्तरता अहिलेको यूवा पुस्ताले पनि हरेक वर्ष फागु पूर्णिमाको दिन यो मन्दिरमा गई पूजाआजा गर्दै आएका छन् । भालेश्वर मन्दिरमा पूजाआजा गर्नाले मनले चिताको पुग्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय