काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रथम आवधिक विकास योजना तर्जुमा प्रारम्भिक कार्यशाला गोष्ठीको आयोजना गरेको छ । चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालयमा भएको गोष्ठीमा क्षेत्र नम्बर १० का सांसद तथा पूर्व खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले चन्द्रागिरि नगरपालिकाले पहिलो पटक आयोजना गरेको आवधिक विकास योजना तर्जुमा गोष्ठी नगरको दीर्घकालिन विकासको लागि सहयोग पुग्ने बताउनु भयो । उहाँले निश्चित अवधिलाई आधार मानेर बनाइने योजनामा नगरको स्रोत, साधनलाई ध्यानमा राखेर योजना बनाई अघि बढ्न सुझाव दिनुभयो । सांसद केसीले अहिले भौतिक पूर्वाधारको हिसाबले नगरपालिका धेरै अघि बढे पनि श्रम र रोजगारीलाई कुनै पनि स्थानीय निकायले जोड्न नसक्दा यूवा पुस्ताहरु दैनिक विदेशीने क्रम बढेको भन्दै नगरपालिकाले अबका दिनमा कुनै पनि योजना बनाउँदा युवा लक्षित कार्यक्रमलाई अघि बढाएर लान आग्रह गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्र जटिल अवस्थामा रहेको बताउँदै चन्द्रागिरि नगरपालिकाले आफ्नो योजना बनाउँदा विज्ञसँग गहनरुपमा छलफल गरी योजना बनाई अघि बढी नगरले लिएको उद्देश्य पुरा गर्न शुभकामना समेत दिनुभयो ।

यस्तै प्रदेश सांसद विन्दु श्रेष्ठले यस्तो प्रकारको गोष्ठीले चन्द्रागिरि नगरपालिकाले आगामी दिनमा लिएको उद्देश्य प्राप्तीका लागि सहज हुने बताउनु भयो । उहाँले पूर्वाधार निर्माणलाई मात्र विकास भन्ने सोच हाम्रो मानसपटलबाट हटाई रोजगारी सिर्जना हुने योजना अघि बढाउन अहिलेको आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा कतिपय कानूनी अड्चन आइपरेको भन्दै आफु पुलको रुपमा उभिन तयार रहेको पनि बताउनु भयो ।

यसैगरी प्रदेश सांसद यमुना श्रेष्ठले तिनै तहको सरकारबीच समन्वय नहुँदा योजनाका काम कतिपय अलपत्र अवस्थामा रहेको बताउनु भयो । उहाँले प्रदेशका योजना धेरै रहेपनि कतिपय योजना कार्यान्वयन नहुने अवस्थामा रहेको जानकारी गराउनु भयो । उहाँले योजना बनाउँदा एकपक्षीय ढंगले बनाउँदा बजेट सकिए पनि परिणाम शून्य हुने गरेको बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिका आजको दिनसम्म कुन अवस्थामा छ र अबको तीन वर्षमा नगरलाई कहाँसम्म पुर्याउने भन्ने उद्देश्य अनुसार आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरिएको बताउनु भयो । उहाँले अबका दिनमा नगरपालिकाले कुनै पनि योजना बनाउँदा विभिन्न राजनीतिक दल, पूर्वजनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवि, विभिन्न संघसंस्था, शिक्षकलगायत सरोकार निकायसँग छलफल र सहकार्य गरी योजना बनाउने उल्लेख गर्नुभयो । उहाँले आफु नगरप्रमुख भएर सात वर्षसम्म निरन्तर दोडिरहँदा नगरलाई एउटा विन्दुसम्म पुर्याउन आफु सफल भएको पनि बताउनु भयो । उहाँले भौतिक पूर्वाधार नै विकासको मुल आधार भन्ने उद्देश्यका साथ यसअघि आफुले नगरभित्र सडक, विद्यालय भवन, स्वास्थ्य भवन, खेलकुद भवनलगायत विभिन्न पूर्वाधार निर्माण गरेको र अबका दिनमा निर्माण भएका पूर्वाधारलाई प्रयोग गरी रोजगारसँग जोड्न नगरपालिका सक्षम भएको दाबी गर्नुभयो । उहाँले नगरको प्रमुख स्रोत नै पर्यटन भएकोले नगरभित्र रहेका विभिन्न सम्पदा र संस्कृतिलाई ऊजागर गर्दै नगरको आयआर्जनको बाटो बलियो बनाउन लागि परेको बताउनु भयो । प्रमुख गिरीले युवापुस्ता केही पैसाको लागि विदेशीन बाध्य रहेको अवस्थामा अहिले नगरपालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएको र नगरभित्र रोजगारको बाटो सिर्जना भएकोले अबको केही समयपछि नगरका युवा रोजगारीको लागि भौतारिन नपर्ने उल्लेख गर्नुभयो । उहाँले सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्नको लागि स्थानीय तहले नै संघीय योजना अनुरुपमा आवधिक योजनाहरु बनाएर लक्ष्यप्राप्त गर्नुपर्ने उल्लेख गर्दै नगरले प्रथम आवधिक विकास योजना तर्जुमा प्रारम्भिक कार्यशाला गोष्ठी आयोजना गरेको बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका उपसचिव डा. दिवाकर लुइटेलले नेपालमा २०१३ साल देखि संघीय योजना सुरुभएको र अहिले १६औं योजनाको अन्तिम चरणसम्म आइपुग्दा पनि योजनाको प्रतिफल प्रत्यक्षरुपमा जनताले महसुस गर्न नपाएको भन्दै आवधिक योजना बनाउँदा स्थानीयहरुको संलग्नता, प्राथमिकता र कार्यान्वयन पक्षलाई जोड दिनुपर्ने बताउनु भयो । उहाँले कुनै पनि योजना बनाउँदा महत्वाकांक्षी योजना नबनाई कार्यान्वयन गर्न सकिने योजनालाई अघि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा प्राविधिक टोली महेश दाहालले संघीय योजना, प्रदेश योजना तथा स्थानीय तहकै अन्य योजनाको अन्तरसम्बन्ध, नगरपालिकाको प्रमुख नीति तथा कार्यक्रम, १५औं योजना, समावेशी करण, लैंगिक समानता, वातावरण, विपद् व्यवस्थापनलगायतको अन्तरसम्बन्धी विषय क्षेत्रहरुको बारेमा प्रस्तुती दिनुभएको थियो ।

यस्तै प्राविधिक पंकज अधिकारीले आवधिक योजना तर्जुमाका लागि आवश्यक तथ्यांक, सूचना, संभावना, समस्या र चुनौति, विषय क्षेत्रगत तथ्यांक, सम्भाव्य आयस्रोत तथा तथ्यांकका लागि फारमहरुको नमूना पेश गर्नुभएको थियो ।

यसैगरी प्राविधिक बसन्त भट्टराईले दीर्घकालिन सोच तर्जुमाका लागि सहभागिता मुलक छलफल एवम् दीर्घकालिन सोचबारे मस्तिष्क मन्थन गराउनु भएको थियो ।

साथै कार्यक्रममा प्राविधिकहरुले आवधिक योजनाका विषयगत क्षेत्र, उपक्षेत्र तथा संरचना, आवधिक योजनाको नतिजा खाकाका साथै आगामी कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, १५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरका विभिन्न शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, राष्ट्रिय योजना आयोगका प्रमुखलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सेन्टर फर रिजिलियन्स एण्ड डेभलपमेन्ट प्रालि, मध्यपुर थिमी, भक्तपुरको सहकार्यमा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय