काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं. ६ बालश्रम मुक्त वडा घोषणा भएको छ । शुक्रबार एक विशेष कार्यक्रमका बीच बालश्रम मुक्त प्रमाणपत्रमा सामुहिक हस्ताक्षर गर्दै वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

बालश्रम मुक्त वडा घोषणा समारोहमा वडा बालअधिकार समितिको संयोजन र वल्र्ड भिजनको सहकार्यमा भएको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले नगरका १५ वटा वडा मध्ये ५ वटा वडा बालश्रम मुक्त वडा भइसकेको र छिट्टै नै नगरपालिकालाई नै बालश्रम मुक्त नगर बनाउने बताउनु भयो । उहाँले नगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमका लागि बजेट साथै कार्यक्रमहरु तय भएको जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्नु ठूलो कुरा भएको बताउनु भयो । उहाँले वडालाई बालश्रम मुक्त वडा त घोषणा गरियो तर लुकी छिपी हुने बालश्रमलाई रोक्न चुनौति हुने उल्लेख गर्नुभयो । उहाँले आफ्नो घर नै यही वडामा भएको र आज वडा बालश्रम मुक्त वडा घोषणा भएकोले आफुलाई धेरै नै खुशी लागेको बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष संजय सिग्देलले बालबालिकाको संविधान पद्धत हक अधिकारको सुनिश्चित गर्दै बालश्रम मुक्त वडा घोषणा गरिएको बताउनु भयो । उहाँले बालबालिकाको मौलिक हकका लागि अब उप्रान्त कसैले बालश्रम गरे कानून बमोजिम कारवाही गरिने पनि चेतावनी दिनुभयो ।

कार्यक्रममा वडा भित्र रहेका विभिन्न स्कुलका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बालश्रम मुक्त घोषणा अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्था, विद्यालय, महिला समूहलगायतलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

यसअघि बालश्रम मुक्त वडा घोषणा गर्नुअघि वडाका विभिन्न स्थानमा भेषभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरका विभिन्न शाखाका शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय