बुद्ध जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुनेछन् । म्याराथनमा नेपाल, चीन, पाकिस्तान, श्रीलंका, केन्यालगायत देशका धावकहरूको सहभागिता हुने जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा थप परिचित गराउने बताए । उनले भने, ‘लुम्बिनीको प्रचारका साथै नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन कार्यक्रमले भूमिका खेल्नेछ ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीको महत्त्वलाई विश्वमाझ परिचित बनाउन कार्यक्रम गर्दै आइरहेको बताए । लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको छ । भोलिपल्ट लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा हुनेछ। चैत २४ गते साँझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतको प्रस्तुति हुनेछ ।

त्यस्तै पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ । महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड गरिने छ । म्याराथन प्रतियोगिताको विजेताले ५ लाख पाउनेछन् । कुल पुरस्कारमा २० लाख रुपैयाँ छुट्याइएको छ । ५ किलोमिटरको रोड रेस र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन लगायतका खेलकुद कार्यक्रम पनि समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय