पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ आयरल्यान्ड सँग २१ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर तीन बलमा एक सय ३६ रनमा समेटिएको हो । नेपालका लागि ओपनर देव खनालले २६ र यस्तै बसिर अहमदले २० रन जोडेपनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन ।
अर्जुन कुमाल ९, भीम सार्की शून्य, आरिफ शेख शून्य र अर्जुन साउँद ४ रनमा आउट भए । कप्तान विनोद भण्डारीले पनि नौ रनमै आउट भए । आयरल्यान्डका लागि माथ्थिउ हम्फ्रेयजले पाँच र लियम मकार्थी ले चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८ ओभर तीन बलमा सबै विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । आयरल्यान्ड ‘ए’ का लागि काडे कारमाइकलले सर्वाधिक ५१ रन बनाए ।
यसैगरी कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहनीले समान १२ रन बनाए । नेपालका लागि कमलसिंह ऐरीले चार विकेट लिए । यसैगरी साहब आलम र श्याम ढकालले समान दुई तथा रिजन ढकालले एक विकेट लिए । यसअघि सम्पन्न टी–२० सिरिज आयरल्याण्ड उल्भ्सले २–१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ’ए’ ले जितेको थियो । अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।