
वराहक्षेत्र- आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलाको तयारी अन्तिमतिर पुगेको छ । मेलाका लागि बराह क्षेत्र नगररपालिकाको अध्यक्षमा तयारी समिति गठन भएको छ भने प्रदेश र संघ सरकारले पनि आवश्यक सहयोग गरेका छन । मेलामा न्युनतम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्य सहित तयारी भैरहेको बराह क्षेत्र नगरपालिकाले जनाएको छ ।
कोशी प्रदेश सरकारको पर्यटन, सामाजिक विकास, भौतिक पूर्वाधार मन्त्रालयले मेलाका समयमा हुने खानेपानी समस्या, स्वास्थ्य समस्या लगायतमा सहयोग गरेका छन । कुम्भ मेलालाई प्रदेश सरकारले विशेष रुपले हेरेको जनप्रतिनिधिको भनाइ छ ।



कुम्भ मेला लाग्नुभन्दा ५ दिन पहिले र कुम्भ मेला सकिएको ५ दिनपछिसम्म कुम्भ क्षेत्रमा मदिरा र माछामासु बिक्रीवितरणमा रोक लगाउने तयारी गरिएको छ । कुम्भ परिसरमा १ सय ९५ अस्थायी शौचालय र २ वटा मोबाइल भ्यान शौचालय समेत तयार गरिएको छ । कुम्भ मेलामा सवारी साधनको व्यवस्थापनका लागि पाँच ठाउँमा पार्किङको व्यवस्था मिलाइएको छ । एलएनटी परियोजनाको खाली मैदान, एक नम्वर वडा कार्यालय अगाडि, वन कार्यालय परिसर, चतरा बसपार्क, छिन्न्मस्ता मन्दिर परिसर पार्किङ्गका लागि तोकिएको हो ।