
सुन बैंकमा थुप्रिन थालेपछि फागुन २२ यता सुन आयात रोकिएको छ । बिहेको लगनको सिजन भएपनि बढदो बजार भाउका कारण बजारमा सुन कारोबार बढन सकेको छैन । नेपाल बैंकर संघका अनुसार अहिले बैंकमा १ सय १७ किलो सुन मौज्दात छ । फागुन मसान्तसम्म १ सय ९६ किलोसम्म मौज्दात थियो । बैंकमा सुन थन्किएपछि केही बैंकले आफैं पनि सुन आयात रोकेका छन ।
रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ । मूल्य बढेकै कारण लगनको सिजनमा असर परेको छ । बजारमा पुरानो सुन फिर्ता आउने क्रम सुरु भएको व्यापारीको भनाइ छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो ।


