ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य आजपनि जारी छ । भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमानमा उनीहरुको उद्धार र खोजी भैरहेको हो । चार वटा मिनी बसमा यात्रा गरिरहेका कम्तिमा १३१ जना यात्रु एउटा सुरुङमा थुनिएको र उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल नभएको बताइएको छ ।

मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् । आपतकालीन सेवाको टोलीले भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काम गरिरहेको छ । भूकम्प प्रभावित व्यक्तिहरुले गएको राति त्रिपाल र टेन्ट मुनि बिताएका छन् ।

बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने एक हजार मानिस घाईते छन । ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको यो भुकम्पको धक्का राजधानी ताइपेईसम्म महशुस गरिएको थियो ।

भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो । ताइवानको यो भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय