काठमाडौं । काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ । चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ।

जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विभिन्न कला कौशलको प्रदर्शन गर्ने गर्दछन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिहरुले सेनाको अश्वकला अवलोकन गर्ने छन् । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रही आएको छ ।

घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

घोडेजात्रा किन मनाइँछ ?

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा गुरुमापा भन्ने राक्षसले बास गर्ने गर्दथ्यो । त्यो राक्षसले स–साना बालबालिकालाई खाने गर्दथ्यो । राक्षसले सधै दुःख दिन थालेपछि गाउँ टोल बस्तिका सबै पीडित एक जुट भएर त्यसलाई मारे । तर, त्यो राक्षसको प्रेतात्मा जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय गाउँटोल बस्तिमा यथावत रहिरह्यो । चैत्र कृष्ण औँसीका दिन घोडाको टापले गुरुमापाको आत्मालाई कुल्चाएर दबाइयो । त्यसपछि प्रत्येक वर्ष यही दिनमा घोडेजात्रा पर्व मनाउन थालियो । पहिले खुल्ला स्थान हुँदा यो पर्वमा शहरभर घोडा कुदाउने गरिन्थ्यो । तर, अहिले बस्ती विस्तार भएपछि टुँडिखेलमा मात्र घोडा कुदाउने गरिएको छ । अहिले पनि शहरका कुनै पनि बालबालिकालाई खतरा नहोस् भनि घोडेजात्राको रात टुँडिखेलको त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिइने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय