काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष शम्भु केसी नभएको समयमा कार्यबहाक वडा अध्यक्ष भुवन केसीलगायत अन्य जनप्रतिनिधिहरुले छुट्याइएका योजनालाई अन्यत्र लगिएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्थानीयले विना सल्लाह वनदेवी मन्दिर निर्माणको लागि ७ लाख, वनदेवी सामुदायिक भवन मर्मत सुधारको लागि ३ लाख, वनदेवी स्कुल मर्मत सुधारको लागि ८ लाख र वनदेवी मन्दिर अगाडी ढुंगा छाप्नेको लागि ५ लाख छुट्टाइएको योजनामा जनप्रतिनिधिले आफु खुशी अन्यत्र लगेको भन्दै स्थानीय आक्रोशित भएका थिए । उहाँहरुले कुनै योजना वडाको नभई नगरको भएको र नगरको बजेट वडाले चलाउन नमिल्ने हुँदा नगरसभाबाटै पास गराई अन्यत्र हालिएको आरोप समेत लगाएका छन् । स्थानीय बालाजी खाती भन्नुहुन्छ, आफ्नो रिसले वडा र नगरले छुट्याएको योजनालाई जनप्रतिनिधिले अन्यत्र लगेको र भूल नसच्याए कानूनी उपचारमा जाने चेतावनी दिनुभयो ।
वडा सदस्य भुवन केसीले योजना सम्झौता अन्तिम चरणमा रहेको र सम्झौताका लागि कोही नआएपछि अन्यत्र सार्नु परेको बताउनु हुन्छ । उहाँले योजना सार्दा पनि वडामा निर्माण भइरहेको काम अधुरो र अपुरो भएको ठाउँमा लगिएको र वडाको बजेट वडामा नै हालिएको अन्यत्र नलगिएकोले यसमा विवाद गर्नुपर्ने कुनै कारण नै नरहेको बताउनु भयो । उहाँले २०८१/०८२ को बजेटमा आवश्यकता हेरेर पुनः योजना हाल्न सकिने पनि उल्लेख गर्नुभयो ।
वडा कार्यालय बन्द हुँदा वडाको सम्पूर्ण काम ठप्प भएको छ भने सेवाग्राही मारमा परेका छन् ।