राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । आज संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि एमाले सांसद घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने प्रतिक्रिया दिइन । दर्ता भएका दुई प्रस्तावलाई राष्ट्रिय सभाको भोली बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।

राष्ट्रिय सभामा हाल ५८ सदस्य छन् । नेकपा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमाले का १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक-एक तथा दुई जना मनोनीत सदस्य छन् । सत्ता गठबन्धनमा नेकपा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय