सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध आरोप लगाइरहेको बताएकी छिन । आज प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने स्पष्ट पारेकी हुन । मन्त्री शर्माले काँग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रश्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको उल्लेख गरिन ।
मन्त्री शर्माले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको उल्लेख गरिन । प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि उनले जानकारी दिइन । अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको मन्त्री शर्माको भनाइ थियो ।