
वर्षको अन्तिम दिन आज सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा एक हजार सात सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार रुस र युक्रेनको युद्ध, डलरको भाउ उकालो लाग्नुलगायतका कारणले सुनको भाउले पनि कीर्तिमानी बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण हुँदै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।


