काठमाडौं । आज चैत्र ३० गते । वर्ष २०८० को अन्तिम दिन । वर्ष २०८० मा राजनैतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा बिबिध गतिबिधि भए । वर्षको अन्तिम दिन चैत्र ३० गते सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो । यो सहित वर्ष २०८० मा भएका महत्वपूर्ण घटनाहरु यस्ता छन् ।

२०८० वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन भयो । उपनिर्वाचनमा बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने र तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले निर्वाचित भए । यस वर्ष पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँण पक्राउ परे । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर पूर्पक्षका लागि जेल चलान भए । वैशाख २७ मा खाँण, वैशाख ३१ मा रायमाझी पक्राउ परे । सात महिना थुनामा रहेका खाँण मंसिर २८ मा उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भए । रायमाझी अझै केन्द्रीय कारागार, सुन्धारामा छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गर्यो । जेठ १० गते दायर उक्त मुद्दा विचाराधिन छ । यसपटक सत्ता गठबन्धनमा चाँडो–चाँडै परिवर्तन भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पालैपालो सत्ता–सहयात्री बनाए ।२ ०७९ मंसिर ४ को निर्वाचनपछि पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहित, रास्वपा, जसपा, नेकपा (एकीकृत समाजवादी) लगायतका दललाई समेटेका थिए । त्यसपछि दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन कांग्रेसमा सारे ।तर, एक वर्ष पुगेपछि प्रधानमन्त्री प्रचण्डले फेरि सत्ता गठबन्धनमा एमालेतिरै सारे । गत फागुन २१ गते उनले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाएर एमालेलाई प्रमुख सत्ता साझेदार बनाए । त्यस सत्ता गठबन्धनमा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागी छन् ।यसअनुरूप नै प्रदेश सरकारहरू परिवर्तन भइरहेका छन् । निर्वाचन भएको १६ महिनापछि फेरि एमाले–माओवाद केन्द्रबीच सत्ता–सहकार्य भएको छ ।

२०८० सालमा राष्ट्रिय सभामा नयाँ नेतृत्व र दलीय हैसियत फेरियको छ । फागुन २९ गते राष्ट्रिय सभामा माओवादी केन्द्रका नारायण दाहाल अध्यक्ष बने । यस्तै उपाध्यक्षमा गत चैत २८ गते एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रिय सभामा दलहरूको हैसियत पनि फेरिएको छ । अहिले राष्ट्रिय सभामा माओवादी केन्द्रका १९, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका २, लोसपाका १ र जनमोर्चाका १ सांसद छन् ।२०७९ मंसिर ४ को निर्वाचनबाट राजनीतिक शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले घर–झगडा फसेको छ । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीबीचको घर–झगडाको चपेटामा पार्टी र पार्टीका नेताहरू परेका छन् । नाउपाको आन्तरिक कलहले केन्द्र देखि सुदुरपश्चिम प्रदेसको सरकार परिवर्तनमा समेत धक्का दिएको छ ।एमालेले सुदूरपश्चिमको झुलाघाटदेखि सुदूरपूर्वको चिवाभञ्ज्याङसम्म लामो ‘समृद्धिका लागि संकल्प यात्रा’ गर्यो । मंसिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको १८ दिने लामो यात्रामा अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।यस वर्ष राजावादीहरू बढी सक्रिय देखिएका छन । मुलुकमा ‘राजा चाहिन्छ’ भन्ने पार्टी राप्रपाबाहेक अन्य सङ्घ-सङ्गठन तथा व्यक्तिहरू पनि सक्रिय देखिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिक बचाउ अभियानका नाममा मंसिर ७ गते काठमाडौंमा राजावादी प्रदर्शन गरे । राजावादी दल राप्रपा चर्को आन्दोलन गरिरहेको छ । उसले सैवैधानिक राजसंस्था, हिन्दू अधिराज्य, प्रदेश संरचनाको खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका ४० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । राप्रपाले पछिल्लो समय चैत २७ गते काठमाडौंमा बृहत प्रदर्शन गरेको हो । यस्तै पूर्वराजा ज्ञानेन्द्र पनि २०८० मा सार्वजनिक सभा-समारोहहरूमा अलि बढीनै सक्रिय रहे । राजनीतिक खिचातानी र आरोप प्रत्यारोपपछि संसदबाट ०८० सालमा नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भयो । विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन ।

महत्वपूर्ण भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि २० जेठसम्म भारत भ्रमण गरे । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गरे। २०८० मा नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा पुगे ।संयुक्त राष्ट्रसंघको महासभामा अति कम विकसित देशका पक्षमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर दाहाल त्यहीबाट सिधै चीन भ्रमणमा गए। उनले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता, केही ‘सैद्धान्तिक’ समझदारी र छोङछिङ, तिब्बत, छेन्दुको ‘रिफ्रेसमेन्ट’ घुमफिरपछि स्वदेश फर्के । दाहालले चीनका राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेट गरेका थिए । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १२ गते चारदिने नेपालको भ्रमण गरे । जलवायु परिवर्तनको असर विश्व सामु पुर्याउन गुटेरेसको भ्रमण महत्वपुर्ण रह्यो ।भारतीय विदेशमन्त्री एस जयशंकर गत पुस १९ गते काठमाडौं आए । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी भए ।

वर्ष २०८० मा मिटरव्याज पीडितको आन्दोलन, किसानले गोलभेंडा र दुध सडकमै फालेर गरेको बिरोध,शिक्षक आन्दोलन, एक दशकपछि टी–ट्वेन्टी विश्वकप क्रिकेटमा छनोट,इजरायलमा हमासको आक्रमणमा परेर त्यहाँ गएका १० नेपाली विद्यार्थीको ज्यान गएको घटना,महत्वपुर्ण रह्यो । असोज १६ गते बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प, कात्तिक १७ गते मध्यराति जाजरकोटमा गएको भूकम्पले १२ जिल्लामा २६ हजार ५ सउ २८ निजी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । अरू ३५ हजार ३ सय ९५ घरमा आंशिक क्षति भएको हो । १ सय ५३ जनाको ज्यान गएको घटनाले वर्ष २०८० अविश्मरणीय रह्यो । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले बर्ष २०८० मा नै सदर गर्यो । असोज ३ गते गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए । २०८० जेठ ९ गते पर्वतारोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथाको सफल आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बने । पूर्वगोर्खा सैनिक हरि बुढामगरले जेठ ५ कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेके । धरानका मेयर हर्क साम्पाङले ९९ दिनको श्रमदान अभियानबाट उपमहानगरपालिकाको एक रुपैयाँ पनि खर्च नगरी झन्डै ४ करोडको लगानीमा जेठ २८ गते धरानमा कोकाहा खोलाको पानी ल्यायर चर्चा कमाए । ०८० सालमा छिमेकी भारतले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्नेमा सहमतिपत्रमा हस्ताक्षर गर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्वीपक्षीय वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते हृदयघातबाट निधन भयो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्बाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा माग ५ गते निधन भयो। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् । ०८० साल फागुन १४ गते वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भयो । आचार्यका मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, जति चोट दिन्छौं, हजार आँखा हेर्ने, माया मेरी साँझ बिहानलगायत गीत लोकप्रिय छन् । साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा चैत ६ गते निधन भयो । नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रधानले कविता र कथा लेखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको असार २७ गते निधन भयो । डोल्पा दुनैको ठूलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ३ सैनिकको मृत्यु भयो। चैत २६ र २७ गते उनीहरूको मृत्यु भएको हो ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) का लागि विनियोजित १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिव तथा प्रतिष्ठानका ४ पदाधिकारीविरुद्ध मुद्दा दायर, सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर,महत्वपूर्ण रह्यो । वर्ष २०८० मा नै चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजाय तोक्यो। पुस १३ गते ‘जनयुद्ध दिवस’ को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदियो। जिल्ला अदालत सर्लाहीले अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन पुस २६ गते आदेश दियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले १०८औं स्थानमा पर्यो । सीआईबीले ललिता निवास प्रकरणको फाइल खोल्यो, अनुसन्धान गर्यो र मुद्दा दायर गर्यो । उसले भदौ ५ गते चार पूर्वमन्त्रीसहित २ सय ३८ विरुद्ध मुद्दा सिफारिस गरेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्र (सेक्युरिटी प्रेस)का कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेल पक्राउ परे । अख्तियारले माघ १० गते उनीहरूलाई पक्राउ गरेको थियो ।

अख्तियारले मेलम्ची खानेपानी आयोजनामा ६ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम दाबी गर्दै ४ सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा फागुन ६ गते मुद्दा दायर ,स्थानीय तहका कर्मचारीले असोज १४ गतेदेखि २७ गतेसम्म निरन्तर १४ दिनसम्म आन्दोलन गरे । आन्दोलनपछि कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भयो । २०८० सालभरजसो सहकारी पीडितको आन्दोलन भयो । सहकारी सञ्चालकबाट ठगिएपछि उनीहरू आन्दोलनमा आए । साउन १८ मा सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भयो र आन्दोलन स्थगित भयो। तर, सहमति कार्यान्वयन भएको भन्दै पुन पीडितहरू आन्दोलन गरिरहेका छन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पक्राउ परे । चैत २ गते नेपाल प्रहरीको प्रधान कार्यालयबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको थियो । पुनमाथि सुन तस्करी र सहकारी ठगी प्रकरणमा छानबिन भइरहेको छ । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही भयो । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको थियो । २०८० सालमा एनसेलले सेयर बिक्री गरेको विषय पनि चर्चामा रह्यो । अजियाटाले कर छल्नकै लागि एक डलरमा खोलेको स्पेक्ट्रलाइट कम्पनीलाई एनसेलको खर्बौंको सेयर कौडीको भाउमा बिक्री गर्यो । यो विषयमा छानविन समिति बन्यो । त्यसले प्रतिवेदन पनि दियो तर अहिले त्यो त्यसै सेलाएको छ । चर्चित सुनकाण्डमा संलग्न भएको भन्दै पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे । चैत ५ गते महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो । चैत २२ गते दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो । एमडीएमएस खरीदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता भयो । एमडीएमएस खरिदमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा हिनामिना भएको पाइएको छ । चौधरी ग्रुपले हडपेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा २०८० चैत ९ को निर्णयले सरकारले आफ्नो नाममा फिर्ता ल्यायो । वर्ष २०८० भित्र सडक दुर्घटनामा असाधारण संख्यामा हता हती भए । आर्थिक मन्दीको वर्ष किनभने वर्ष २०८० को सुरुवात देखि अन्तसम्म नै असामान्य मन्दी रहिरह्यो । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक धेरै भएको रेकर्ड वर्ष २०८० सँग नै छ ।नेपालको वायूप्रदुषण को तह विश्वकै उच्च भएको वर्ष पनि यही वर्ष रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय