
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बिसु पर्व सिस्नो खेलेर मनाइँदैछ ।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा रौनकता छाएको छ ।बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेको छ । आजको दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ ।यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको छ ।



थारु समुदायले भने आज शिरमा पानी र आशीर्वाद, उज्वल भविष्यको कामना गर्दै ‘जूर–शीतल’ पर्व मनाउँदैछन् । तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो । तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको छ। यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ ।