काठमाडौं । पछिल्लो समय भौतिक पूर्वाधार विकासमा सरकारको लगानी बढिरहेको छ । सडक पूर्वाधार निर्माण, स्तरोउन्नती, सडक बिस्तारको काम त देशैभरी भैरहेको छ । सडक पुवाधार बिकासको नाममा नारायणघाट–बुटवल सडक खण्ड, मुग्लीन पोखरा सडक बिस्तार, त्रिभुवन राजपथ सडक बिस्तार, धुलिखेल खावा सडकखण्ड बिस्तार, कलंकी महाराजगंज कोटेश्वर (रिङरोड) बिस्तारलगायतका राजमार्ग वर्षौदेखि स्तरउन्नती हुँदै आएको तर कहिले पुरा नभएको योजना अन्तर्रगत पर्दछन् । विकासको नाममा पटकपटक सडक बिस्तार हुँदा सडकमा धुलोको कणको मात्रा बढी रहेको छ । राजमार्ग क्षेत्रमा वायु प्रदुषणको मात्रा मापन गर्न सरकार अग्रसर देखिदैन ।

काठमाडौं जिल्लाकै चन्द्रागिरि नगरपालिका – ५ मा रहेको त्रिभुवन राजपथ अन्तर्रगत सुरुङमार्ग जाने बाटोमा अण्डरपास बन्दै गर्दा उक्त सडकमा उड्ने गरेको धुलोको विषयमा चिन्तित हुने कुनै निकाय नै छैन । सडकमा दिनको ३ पटक पानी त हालिन्छ तर, पानी हालेको केही समयमै पुनः धुलो उड्न सुरु भैहाल्छ । सडकमा भएको खाल्टाखुल्टी पुर्ने नाममा कहिले माटो त कहिले ढुंगाको धुलो बिच्छाउँदा धुलोको मात्रा बढ्न गएको छ । उक्त धुलोसहितको हावा सासका कारण क्यान्सर र मस्तिष्कघात जस्ता दीर्घ रोग हुनसक्ने स्वास्थ्य विज्ञहरुको भनाइ छ । वातावरण प्रदूषणको असर फोक्सो, ‘मुटु रोग, मस्तिष्कघात, तल्लो श्वासप्रणालीको संक्रमणमा, नवजात शिशुमा पनि असर गर्छ, राजमार्ग छेउछाउका स्थानीयले फेर्ने स्वास निकै हानिकारक छ ।

एक्यूआई भनिने प्रदूषण नाप्ने सूचकले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्छ । तर स्थानीय तह यस विषयमा गम्भीर छैन । नागरिकले स्वच्छ हावा र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता माग गर्दै पटक पटक सम्मेलन हुने गरेको छ । त्यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सिमित रहेको पिडितहरु बताउँछन् । वातावरणीय सुरक्षा प्रभावकारी बनाउन तत्काल वातावरणसँग सम्बन्धित कानुन-नीति तथा मापदण्डहरूको समयानुकुल पुनरावलोकन गरी कार्यान्वयन गर्न ढिलाई हुँदा प्रदूषणको प्रत्यक्ष असर विशेष गरी गरिबीको रेखामुनि रहेका र ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपांगता भएका व्यक्ति र दीर्घरोगीहरू प्रभावित भएका छन् ।

त्यसो त सन् २०१९ मा भएको एक अनुसन्धानले वायु प्रदूषणका कारण नेपालमा ४२ हजार १ सय जनाको मृत्यु भएको अनुमान गरेको छ । राजमार्ग क्षेत्रको वातावरण प्रदूषणका कारण स्थानीय त पीडित छदैछन् दैनिक लाखौं यात्रुले पनि सकसका साथ पीडा भोक्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय