नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को मुख्य टनेल ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्लास्टिङको स्विच थिचेर टनेलको ‘ब्रेक थ्रु’ गरेका हुन् । ब्रेक थ्रु समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रुघुवीर महासेठ, नेपालका लागि जापानका राजदूत किकुता युताका, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०का नेपाल प्रमुख आखुवो अकिमित्सु, हाज्मा एन्डो कर्पोरेसनका प्रतिनिधिलगायतको उपस्थिति थियो । कुल दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गलाई १४ सय ४८ मिटरदेखि १४ सय ५० मिटरबीचको दुई मिटर खण्डलाई सोमबार विस्फोट गरेर छिचोलिएको हो । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल गत २२ साउनमै ‘ब्रेक थ्रु’ भइसकेको छ ।

टनेलको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री प्रचण्डले भने नागढुंगामा ट्राफिक जाम उच्च हुने गर्छ । त्यसमाथि सडक उकालो पनि छ । यहाँ पहिरोको जोखिमसमेत छ । त्यो अवस्थामा सवारीसाधन आवतजावत गर्न कठिन थियो । तर, अब यो सुरुङमार्गका कारण सवारीसाधनको आवतजावत सहज हुँदै छ । साथै, यसले ढुवानीमार्फत वस्तु तथा सेवाको लागतसमेत कम गर्नेछ ।

यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनको यात्रा केही छोटिनेछ । २२ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी लागतमा परियोजना बन्दै छ । जसमा जाइकाले १७ अर्ब १५ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ भने बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ ।

यो आयोजना बनाउन विभाग र निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनबीच २३ सेप्टेम्बर ०१९ मा सम्झौता भएको थियो । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले डिसेम्बर ०२० ९पुस ०७७० देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको साढे तीन वर्षपछि मुख्य टनेल ब्रेक थ्रु भएको हो । ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको बताए । नागढुंगा सुरुङमार्गले बहुआयामिक रूपमा फाइदा पुग्ने उनको भनाइ छ ।

‘नागढुंगामा ट्राफिक जाम उच्च हुने गर्छ । त्यसमाथि सडक उकालो पनि छ । यहाँ पहिरोको जोखिमसमेत छ । त्यो अवस्थामा सवारीसाधन आवतजावत गर्न कठिन थियो,’ उनले भने, ‘तर, अब यो सुरुङमार्गका कारण सवारीसाधनको आवतजावत सहज हुँदै छ । साथै, यसले ढुवानीमार्फत वस्तु तथा सेवाको लागतसमेत कम गर्नेछ ।’

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘नेपाल अब सुरुमार्गको युगमा प्रवेश गरेको छ । यद्यपि, नेपालले दक्षिण एसियामै पहिलोपटक आफ्नै प्रविधिमा हेटौँडामा सुरुङमार्ग ९चुरिया सुरुङमार्ग० बनाएको थियो । त्यो सञ्चालनमा नभए पनि सुरक्षित छ,’ उनले भने, ‘अहिले पहिलो आधुनिक सुरुङमार्ग ब्रेक थ्रु भएको छ । छोटो समयमा सुरक्षित यात्राका लागि सरकारले सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेको छ ।’

जापानी राजदूत किकुता युताकाले भने नेपाल र जापानका जनताले यो परियोजना बनाएका हुन् । यसले नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने विश्वास छ । त्यस्तै, नेपालका लागि जापानका राजदूत किकुता युताकाले सुरुङमार्गको ब्रेक थ्रुसँगै नेपालमा भविष्यको नयाँ बिहानी प्रारम्भ भएको बताए । नेपाल र जापानका जनताको अपार प्रयासपछि यो सफलता प्राप्त भएको उनको भनाइ छ । यस परियोजनाका कारण नेपालको आर्थिक विकासमा सहयोग पुग्नेसमेत राजदूत युताकाले बताए । ‘नेपाल र जापानका जनताले यो परियोजना बनाएका हुन् । यसले नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने विश्वास छ,’ उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय