सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो वर्षा भएको छ । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो । यूएईमा सन् १९४९ देखि मौसमसम्बन्धी तथ्यांक संकलन गर्न लागिएको हो । समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

यूएईसहित बहराइन कतार र साउदी अरबमा पनि पानी परेको छ । यसअघि मौसमविद्हरूले बहराइनमा बाढी आउन सक्ने चेतावनी दिएका थिए । यूएईमा ठूलो पानी परेसँगै छिमेकी मुलुक ओमानमा बाढी आएको थियो ।

ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ओमानमा बाढीले विद्यालयको गाडी बगाउँदा ९ जना विद्यार्थी र चालकको मृत्यु भएको छ । उद्धारकर्ताहरूले हराइरहेका २ जनाको खोजी गरिरहेको जनाएका छन् । ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् ।

गत वर्ष मात्र ओमान र यूएईले जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन ९कोप–२८० आयोजना गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्वका केही भूभागमा भीषण वर्षा र बाढी आउन सक्ने जोखिमबारे चर्चा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय