
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आज राति नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
नेपाल पहिलो पटक फाइनल खेल्न लागेको हो। भारत भने सात पटकको च्याम्पियन हो।



यसपटकको साफको फाइनलमा दुवै टिमलाई प्रमुख प्रशिक्षकको साथ भने हुनेछैन।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अघिल्ला खेलमा पाएका कार्डका कारण नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी तथा भारतका प्रशिक्षक इगोर स्टिमाचलाई फाइनल खेलाउन प्रतिबन्ध लगाएको छ।
साफले प्रशिक्षक अलमुताइरीले समूह चरणमा दुई खेलमा पहेँलो कार्ड पाएकाले प्रतिबन्ध लगाएको हो।
अलमुताइरीले श्रीलंकाविरुद्ध र लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए।
तर यो प्रतिबन्ध नियमविपरित भएको भन्दै अलमुताइरीले आफूमाथि अन्याय भएको बताएका छन्।
यता भारतीय टिमका प्रशिक्षक स्टिमाचले माल्दिभ्सविरुद्धको समूह चरणको अन्तिम खेलमा रातो कार्ड पाएका थिए। जसका कारण उनले फाइनल गुमाउन लागेका हुन्।
खेलमा नेपालका मुख्य खेलाडी अन्जन विष्ट पनि हुनेछैनन्। उनले पछिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका थिए। अन्जनले बंगलादेशविरुद्धको समूह चरणको अन्तिम खेलमा पेनाल्टीबाट बराबरी गोल फर्काएपछि नेपालले फाइनलमा स्थान पक्का गरेको थियो।
यता भारतका डिफेन्डर सुभासिस बोस, मिडफिल्डर ब्रान्डन फर्नान्डेस र फरवार्ड फारुख चौधरी पनि फाइनलमा हुने छैनन्।
सुभासिसले अघिल्लो खेलमा रातो कार्ड पाएका थिए। फारुख र ब्रान्डनले चोटका कारण खेल गुमाउन लागेका हुन्।