काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका छन् ।

बुधबार अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, डा. प्रकाशशरण महत, सुरेन्द्र पाण्डे,जनार्दन शर्मा, डा. युवराज खतिवडा, प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन् । छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाव दिए। उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । निवर्तमान अर्थमन्त्री महतले पपुलिज्मको पछाडि नलाग्न र कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्न सुझाव दिए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेट राख्न र असीमित ढंगले बजेटको आकार फराकिलो नबनाउन सुझाव दिए । पौडेलले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनास्रोत राखिएका हजारौं टुक्रे आयोजना खारेज गर्न पनि अर्थमन्त्री पुनलाई सुझाव दिए । पूर्वअर्थमन्त्री जनार्दन शर्माले अख्तियार, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए ।अर्का पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको बताए । खतिवडाले दायित्वजति संघीय सरकारमा राखेर स्रोतजति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औंल्याए ।अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले देशको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने बताए ।पूर्वमन्त्री शंकर कोइरालाले आर्थिक स्थायित्वका लागि कम्तिमा दुरगामी प्रभाव पार्ने एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए।

मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरुका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए। पूर्वअर्थमन्त्रीका सुझावलाई गाइडलाइनका रुपमा ग्रहण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय