
अर्घाखाँची – अर्घाखाँचीमा पछिल्लो समयमा आगोलागीका घटनाहरु बढीरहेका छन् । यही बैशाख महिनामा मात्र जिल्ला भर ३१ स्थानमा आगोालागी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी प्रतितसिंह राठोरले बताए ।गएको चैत महिना १९ स्थानमा आगोलागी भएको थियो । आगोलागीका कारण चैत १ गते देखि बैशाख १२ गते सम्म १ सय ३ घरगोठ जलेर नष्ट भएका छन् । बन क्षेत्रमा लागेको आगो घरमा फैैलिएपछि ४२ घर पूर्ण र १ आंसिक गरि ४३ घर जलेका छन् । ४३ घर परिवार अहिले खुला आकासमा बस्न बाध्य छन् । ५८ गोठ पूर्ण र २ आंसिक गरि ६० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राठोरको भनाई छ ।



आगोलागीमा परि ५३ पशुचौपाया मरेको र १९ पशुचौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिपेन्द्र रावलले बताए । दैनिक रुपमा आगोलागीका घटनाहरु फैलिएका छन् । डढेलोमा १ वटा मोटर साइकल र २ वटा साइकल पनि जलेका छन् ।यस आर्थिक बर्षमा जिल्लाका १ सय १३ स्थानका २ हजार १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालयका वन अधिकृत यादव सापकोटाले बताए । वन क्षेत्रमा घाटगद्यी गरिएको ५ सय ८३ क्युफिट काठ र १ चट्टा दाउरा पनि जलेर नष्ट भएको जिल्ला वन कार्यालयका वन अधिकृत मदन ढुंगानाले बताए ।
सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामाग्रीहरु प्रयाप्त नहुदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनल भने सुरक्षाकर्मी संग पनि पर्याप्त अग्नी नियन्त्रक साधन छैनन् । जिल्लाका ६ वटा स्थानीय तह मधये सन्धिखर्क नगरपालिकामा मात्र दमकल रहेको छ । अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्यांकर भएपनि तयारी अबस्थामा राख्ने निर्णय भएको थियो । कार्यन्वयनको प्रकृयामा आगोलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।