बझाङ । बझाङ प्रदेश सभा (१) क को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । एमालेका भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । दुई प्रतिस्पर्धीबीचको मतान्तर २६७ मत रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दीलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाए ।

वि.सं.२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ मा जन्मिएका भण्डारीले २०४२ सालमा नेपाल ल क्याम्पसमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् ।
बीएलसम्मको अध्ययन पछि गाउँ फर्केका भण्डारीले सामाजिक काममा आफुलाई अब्बल बनाउँदै २०५४ सालमा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । २०५५ साल नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष, युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत भए । २०६९ सालमा नेकपा एमालेका जिल्ला कमिटी सचिवमा चुनिएका भण्डारी २०७८ देखि अहिलेसम्म नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् ।

उनी एमालेभित्र इमान्दार, भद्र र शालिन पात्रका रुपमा परिचित छन् । यस अगाडि प्रदेश सभा १ (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका थिए । दुर्घटनामा सिंहको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय