काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायायिक समितिको सम्पूर्ण गतिविधि अब डिजिटल माध्यमबाट हुने भएको छ । नगरपालिकाको प्रशासकीय भवन बलम्बुमा भएको कार्यक्रममा न्यायिक समितिको व्यवस्थित कार्यप्रक्रियाका लागि तयार गरिएको न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली आजबाट शुभारम्भ गरेको हो ।

https://fb.watch/rLq0Ul9zRJ/

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिका अब डिजिटल प्रविधिमा अघि बढेको बताउनु भयो । उहाँले यसअघि पनि नगरको प्राविधिक शाखा, राजश्व शाखालगायतका विभिन्न शाखामा डिजिटल प्रविधिबाट काम भइरहेको बताउनु भयो । उहाँले कर्मचारी र जनप्रतिनिधिबीचको समन्वयमा नगरको सम्पूर्ण शाखालाई डिजिटल प्रविधिमा लगि नगरलाई नै एक वर्ष भित्र प्रविधियुक्त नगरपालिका बनाउने गरि कार्य भइरहेको जानकारी गराउनु भयो ।

उपप्रमुख तथा न्यायिक समितिका संयोजक बसन्ती श्रेष्ठले नगरको न्यायिक समितिको सम्पूर्ण काम डिजिटल माध्यमबाट गरिने हुँदा यो जतिको खुशीको क्षण अरु नभएको बताउनु भयो । उहाँले अहिलेको यो डिजिटल प्रविधि आजको आवश्यकता भएको भन्दै नगरपालिकालाई समयअनुसार अघि बढाउनु सबैको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भरपुर प्रविधिको प्रयोग गरेर नगरबासीलाई छिटो, छरितो, चुस्तरुपमा सेवा दिनु आफुहरुको मुख्य उद्देश्यले रहेको र यो व्यवस्थालाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले कागजी युगबाट नगर विस्तारै डिजिटल प्रविधितर्फ अघि बढ्दै गएको र न्यायिक समितिको व्यवस्थापन सूचना प्रणाली शुभारम्भले नगरपालिका प्रविधिमा एक तह अघि बढेको दाबी गर्नुभयो । संयोजक श्रेष्ठले नगरभित्र रहेका विभिन्न शाखा मध्ये कानून शाखाले स्व मूल्यांकनमा सतप्रतिशत अंक ल्याएको भन्दै गौरब गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगर डिजिटल प्रविधिमा गई रहँदा त्यसको फाइदाका साथै बेफाइदालाई नजिकबाट नियाल्न पनि जरुरी रहेको बताउनु भयो । उहाँले डिजिटल प्रविधि आजको आवश्यकता भएको र नगरलाई प्रविधिमैत्री बनाउन प्रशासनको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्यालले नगर डिजिटल प्रविधिमा जाँदै गर्दा प्रविधिलाई सुरक्षित गर्न नगरको आफ्नो छुट्टै सर्वरको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अदालती झन्झटमा कुनै पनि नगरबासी नफस्ने गरी र गुनासो नआउने गरी काम गर्न कानून शाखाका कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

यस्तै कानून शाखाका प्रमुख चिरञ्जिवी खड्काले कार्यक्रममा स्थानीय न्यायिक समिति सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी जानकारी गराउनु भएको थियो । उहाँले कानून शाखाले शुभारम्भ गरेको न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली मंगलबारदेखि सुरु हुने जानकारी गराउनु भयो । खड्काले आफुले नेतृत्व गरेको शाखाले स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा स्वमूल्यांकन विषय क्षेत्र ६, न्यायिक कार्य सम्पादनमा सत्प्रतिशत सफलता प्राप्त गर्न सफल भएको दाबी गर्नुभयो । शाखाले उक्त विषयमा पूर्णाङक ७ मा ७ नै अंक प्राप्त गरेको थियो ।

यसैगरी न्यायिक समितिका सदस्य रत्न श्रेष्ठले सफ्टवेयर शुभारम्भ भएसँगै नगरपालिकाको न्यायिक समितिले दिने सेवा सेवाग्राही माझ सहज र सरल रुपमा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो प्रविधिले नगरपालिकाको न्यायिक शाखाले गरेका न्यायिक गतिविधिहरु घरमै बसेर हेर्न सकिने पनि बताउनु भयो ।

रिनोभेसन नेपालको सहजीकरणमा चन्द्रागिरि नगरपालिकाको न्यायिक समिति व्यवस्थापन सूचना प्रणाली शुभारम्भ गरेको हो । सफ्टवेयरमा ८ रजिष्टर, २० निवेदन, १९ लिखत, २६ सन्र्दभ सामग्री, ९ आदेश र १ सय भन्दा बढी शब्दाबली समेटिएको छ । सूचना व्यवस्थापन प्रणालीका फाइदाहरु अभिलेखिकरण, लिखतहरुमा एकरुपता, कार्यबोझ न्यूनिकरण, संस्थागत विकास स्मरण, मार्गदर्शन, डिजिटलाइजेशन, समयको बचत, सुरक्षा र गुणस्तरीयता हुने दाबी नगरपालिकाले गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय