
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले वडामा रहेका मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी एड्भान्स तालिम संचालन गरेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सात वर्षको लामो अभ्यासपछि नगरपालिकाले पहिलो पटक न्यायसम्बन्धी एडभान्स तालिम संचालन गरेको बताउनु भयो । उहाँले नगरमा न्यायिक समिति गठन भएको ६ वर्ष भएको र विभिन्न तालिम लिदै, दिंदै आएपनि यो प्रकृतिको तालिम मेलमिलापकर्तालाई नगरपालिकाले पहिलो पटक दिन लागेको दाबी गर्नुभयो । नगरमा आउने विवाद कम गर्नको लागि नगरको १५ वटै वडामा मेलमिलापकर्ता राखिएको र उहाँहरुलाई नगरले समक्ष मेलमिलापकर्ता बनाउन सफल भएको र अझै मेलमिलापकर्ताको हौसला, उत्साह र क्षमता विकासको लागि एड्भान्स तालिम दिन लागेको उल्लेख गर्नुभयो । उहाँले अब यो तालिमबाट मेलमिलापकर्तामा अझ निखारता आउने र सामान्य अवस्थाबाट नभई गहन छलफल, व्यवस्थापन र सिकेका सीपबाट नगरभित्र आएका कानूनी समस्या र जटिलतालाई सहज हल गर्न सक्षम हुने अपेक्षा राख्नुभयो ।



चन्द्रागिरि नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बसन्ती श्रेष्ठले पटक पटक लिएको तालिमले सक्षम भएका मेलमिलापकर्तालाई अझ सक्षम र सवल बनाउने उद्देश्यले दिन लागिएको एड्भान्स तालिमले मेलमिलापकर्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबको दिनमा तालिमको नाममा तालिम मात्र नभई लिएका, पाएका र सिकेका ज्ञानलाई भरपुर सदुपयोग गर्नतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । उप्रमुख श्रेष्ठले नगरबासीहरुमा सिर्जना भएको विवाद सकभर वडामै मिलाउने वातावरण तयार गर्नुपर्ने र नगरमा आएको विवादलाई नगरमै हल गरी माथिल्लो तहसम्म पुर्याउने वातावरण बन्न दिन नहुने बताउनु भयो । श्रेष्ठले विवाद न्यायिक समिति, नगरको कानून शाखा र मेलमिलापकर्ताको मात्र समस्या नभएको भन्दै नगरपालिकाको नै समस्या भएकोले नगर प्रमुखले यो विषयमा गम्भीर भएर सोचिदिए समस्या हल गर्न सकिने र जनताले न्यायोचित ढंगले न्याय पाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको न्यायिक समिति सक्षम र सवल हुनका लागि नगरपालिका, कर्मचारी, जनप्रतिनिधि, जनता, मेलमिलापकर्ता सबैको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले दक्षि जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाको न्यायिक समितिले यो तालिम दिएको र यसमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले मेलमिलापकर्ताले आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले नगरले मेलमिलापकर्तालाई ठूलो लगानी गरिसकेकोले पनि आफुले पाएको भूमिकालाई कानूनको परिधिभित्र रही इमान्दार भएर निर्वाह गर्न सुझाव दिनुभयो । उहाँले मेलमिलापकर्तालाई वेसिक तालिम, पुर्नताजगी तालिम पटक पटक दिइसकेको र एडभान्स तालिम नगरले दिन लागेकोले तालिमको भरपुर सदुपयोग गरी नगरको न्यायिक क्षेत्रमा आफ्नो कौशताला देखाउने मौका पुनः एकपटक आएको बताउनु भयो । उहाँले समाजमा सकभर विवाद नहोस्, विवाद भइहाले पनि तालिम पाएका मेलमिलापकर्ताले तत्कालै समस्याको समाधान खोज्न सक्नछन् भन्नेमा आफु विश्वस्थ रहेको उल्लेख गर्नुभयो ।
तालिम ५ दिनसम्म संचालन हुनेछ ।