काठमाडौं । रगतबिनाको जीवन हामीले कहिल्यै कल्पना पनि सक्दैनौ । स्व–इच्छाले रगत दान गर्नु नै रक्तदान हो । मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित ईटाखेल सरोकार समाज र फ्रेण्डस सोसियल युनिटीले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

ईटाखेल सरोकार समाजले प्रभात माध्यमिक विद्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, काठमाडौंको प्राविधिक सहयोगमा विहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यक्रम संचालन गरिएको थियो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा सदस्य भुवन केसीले समाजले रक्तदानको कार्यक्रम गरेर देश, समाज र विरामीलाई ठूलो सहयोग पुर्याएको बताउनु भयो । उहाँले मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल र अन्य बस्तु चढाउँदैमा धर्म नहुने तर, कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म भएको दाबी गर्नुहुन्छ । उहाँले रगत अभावकै कारण विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समाजले वर्षेनी गर्दै आएको रगत दान कार्यक्रमको प्रशंसा गर्नुभयो ।

समाजका अध्यक्ष कपिन्द्र महतले नेपालमा वर्षेनी करिब ३ लाख युनिट रगत आवश्यक पर्ने र संचार माध्यममा सधै रगत अभाव भयो भनि समाचार आइरहने हुँदा समाजले सानो सहयोग पुराउन खोजेको बताउनु भयो । उहाँले देशमा शिक्षित व्यक्तिको संख्या दिनप्रतिदिन बढ्दै गएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी हुन नसकेको र रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाउन नसकेको उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका रचना पौडेलले रगत अभाव हुन नदिन रक्तसञ्चार केन्द्रले बिभिन्न ठाउँमा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरेर मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको एकजना ब्यक्तिले गरेको रक्तदानले अर्को ब्यक्तिको ज्यान बच्ने हुँदा जनचेतना जगाउन जरुरी भएको बताउनु भयो ।

यस्तै मेट्रो ब्लड बैंकको सहकार्यमा फ्रेण्डस् सोसियल युनिटीले चन्द्रागिरि नगरपालिका वडा ७ को शहरी स्वास्थ्य केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । युनिटीले वर्षको दुई पटक रक्तदानको कार्यक्रम गर्दै आएको छ ।

युनिटीका सचिव श्याम मानन्धरले रक्तदान नै जीवनदान भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, मानव शरीरमा भएको रगत दान नगरे तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु हुनै सक्दैन भन्दै रक्तदातालाई धन्यवाद समेत दिनुभयो ।

राजधानी लगायतका शहरी क्षेत्रमा अस्पतालमा उपचारको लागि आउने बिरामीलाई रगतको अभाव हुँदै आएकोमा अहिले हरेक दिन जस्तो हुने रक्तदान कार्यक्रमले बिरामीलाई रगत अभावको समस्या धेरै हदसम्म हटेर गएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय