काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि बिहिबार बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका हुन ।
यस अघिका मुख्यमन्त्री केदार कार्कीले सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावअनुसार तोकिएको अवधिभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव अगाडि बढाउन सूचना नदिएको पत्र प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखलाई पठाएको थियो । सोही पत्र र महान्यायाधीवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान भएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २०८० चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिइसकेको अवस्थामा २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएकोले स्वतः पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएको थियो ।

 

सरकार रिक्तताको अवस्था रहन नसक्ने भएकोले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरे लगत्तै एमाले र माओवादीका सांसदहरूले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दाबी पेस गरेका थिए । सोहि हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुखले कार्कीलाइ मुख्यमन्त्री नियुत्त गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय