
नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको एकलौटी कार्यशैलीका कारण अलग भएको पत्रकार सम्मेलनमाबताएका छन्। पार्टीमा सुरुवातबाटै आफूहरू मारमा परेकाले अहिले विद्रोह गर्नुपर्ने अवस्था आएको उनको दावी रहेको थियो।
पार्टी गठन पछिको पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी विभाजनको सम्पूर्ण दोष जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेको आरोप समेत लगाएकाछन्। महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर अध्यक्ष यादवले पार्टीभित्र मनोमानी गरेको अध्यक्ष राईको आरोप थियो। उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए। उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको थियो, त्यो परिपत्रले विष्फोटक स्थिति बनायो।’ गठबन्धन बचाउन नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरूले पार्टी फुटाएको भन्ने चर्चाको खण्डन गर्दै राईले सत्ताको अंकगणितले पार्टी विभाजन नभएको स्पष्ट पारे।


