प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल’को लागि आवेदन खुल्ला भएको छ। सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा ‘मिस युनिभर्स नेपाल २०२४’को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको छ।

मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा उत्साहित रहेको बताइन्। ‘हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ’, उनले भनिन्, ‘म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलाहरुलाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीहरुको असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु।’

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ। इच्छुक महिलाहरुले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाईन फारम भरेर आवेदन पेश गर्न सक्नेछन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन्। उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरुको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीको साथै गैरआवासीय नेपाली महिलाहरुले पनि सहभागिता जनाउन पाउनेछन्।

सहभागीहरुले अन्तिम प्रतियोगिता अघि विभिन्न प्रशिक्षणहरु प्राप्त गर्ने छन् । सर्वप्रथम असार १८ गते प्रतिस्प्रर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धिहरु छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धिहरु छानिनेछ । त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनिहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ । यस पटकको मिस युनिभर्स नेपालको ग्रान्ड फिनालेमा मिस युनिभर्स २०२३ शेन्निस पलासिओसको पनि उपस्थिती रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरुले २ दिने प्रशिक्षण प्राप्त गर्नेछन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीहरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन्। प्रतियोगिताका विजयीहरुलाई भने उनले भदौ २४ गतेसम्म विशेष प्रशिक्षण प्रदान गर्नेछन् । मिस यूनिभर्स नेपाल २०२४को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३औं मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय