काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताबद्ध बनेको सन्देश जनतामाझ पुर्याउनु अहिलेको आवश्यकता भएको बताएका छन्। मंगलबार पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताका चाहना नै एमालेको चाहना भएकाले सोहि अनुसार अगाडि बढ्न निर्देशन दिएका हुन्।
उनले विपक्षीले एमाले भित्र विवाद र झै-झगडा होस् भन्ने चाहेकाले आन्तरिक लोकतन्त्र बलियो बनाएर विरोधि चाहनामाथि चिसो पानी खन्याउनुपर्ने बताए। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताए।
उनले समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा एमाले पार्टीमात्रै लागिरहेको दाबी गरे। सरकारले गरेका राम्रा काम जनतामाझमा जान नदिने नेताहरु लागि परेको धारणा राखे । उनले आन्तरिक रुपमा अनुशासनहीन र अराजक तत्वका कारण एमाले सरकारले गरेका काम जनताको बीचमा पुग्न नसकेको स्पष्ट पारे। उनले परमादेशको माध्यमबाट आन्तरिक तथा बाह्य तत्व मिलेर एमालेलाई प्रतिपक्षी भूमिकामा पुर्याउन सफलता मिलेको बताए ।ओलीले व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थबाट जोगिएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे। उनले जनतालाई सचेत गराउने स्थानीय तहका कमिटी रहेकाले सक्षम नेतृत्व चयन गर्न आग्रह गरे।
उनले बाढी, पहिरो, डुबानपीडितको सम्बोधन तत्काल गर्न सरकारसँग माग गरेका छन्। उनले अहिलेको सरकारलाई पञ्चरंगी भएको संज्ञा दिँदै सरकार सम्पूर्ण रूपमा असफल भएको दाबी गरे।
यता, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पोखरेलले महानगरभित्र सदस्य संख्या न्यून भएकाले संगठित सदस्य बढाउनुपर्ने बताए। काठमाडौं महानगरको पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको राजनीति बुझेकालाई मात्र कमिटीमा ल्याउनुपर्ने धारणा राखे।