सल्यानमा आइतबार १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना प्राविधिक समस्याले भएको मानिएको छ।

दुर्घटनालगत्तै फरार भई सोमबारमात्रै दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको सम्पर्कमा आएका बसका चालक सल्यानको शारदा नगरपालिका वडा नं. ३ महिसेपानीका ३० वर्षीय सुदीप खानले ‘मेन सेकेण्ड पट्टा’ भाँचिएपछि बसको स्टेरिङले काम नगरेको बताएका छन्।

‘अगाडिको मेन सेकेण्ड पट्टा खाल्डोमा परेर एकै पटक भाँचिएपछि एक्कासि ड्राइभर साइडमा गाडीले तान्यो,’ खानले भने, ‘ मैले खलासी साइडमा जति काट्न खोजे पनि स्टेरिङले काम नै गरेन।’

चालकले मदिरा सेवन गरी सवारी चलाएको आशंका गरिएको छ नि ? भनेर प्रश्न गर्दा चालक खानले त्यो सरासर गलत र झूटो आरोप भएको बताए।

‘त्यति धेरै मानिस बसमा सवार थिए,’ खानले भने, ‘त्यस्तोमा यात्रुलाई सकुशल गन्तव्यमा पुर्‍याउनु हरेक चालकको कर्तव्य र जिम्मेवारी हुन्छ। मदिरा सेवन गरेको भन्नु सरासर गलत हो।’

आफू पनि गाडी दुर्घटना हुँदा गाडीसँगै तलै पुगेको र भाग्यले जोगिएको चालक खानले बताए।

‘मेरो खलासीले पहिलै नै हाम फालेर जोगिए छ,’ उनले भने, ‘ साहुको अवस्था गम्भीर छ रे। त्यतिधेरै मानिसको मृत्युको खबरले म रातभर निदाउन सकिनँ।’

उनले आफूलाई दाहिने खुट्टा, छाती लगायतका स्थानमा घाउ चोट लागेको जानकारी दिए।

सोमबार बिहानमात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आएर आफूले उपचार गराएको उनले बताए।

दुर्घटनापछिको अवस्था भयावहपूर्ण देखेपछि असुरक्षा महसुस गरी आफू भागेको उनले बताए।

अहिले उनलाई जिल्ला प्रहरी कार्याल सल्यान लगिएको प्रहरीले जनाएको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ५ खारखोलानजिकै दुर्घटना हुँदा दश महिला र दुई पुरूष गरी १२ जनाको मृत्यु भएको थियो। जसमा सात जना दाङका र पाँच जना सल्यानका छन्।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले २८ घाइतेमध्ये १९ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए। त्यसमध्ये गाडी साहुसहित दुई जनाको अवस्था गम्भीर रहेको थापाले बताए। उनले चार जना जतिको सल्यानमै उपचार भइरहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय