
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। उनीहरूविरुद्ध राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पुर्याएको आरोप छ।
विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् । ‘कुनै राष्ट्रसेवक दफा २८ को उपदफा १ को खण्ड ग दफा ३० को उपदफा ३ तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने छ’ ऐनको दफा ३३ मा भनिएको छ। अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको हो ।


