बजारमा फोल्डगर्न मिल्ने फोनको चर्चा बढेसँगै एप्पलले पनि यस्तो फोन ल्याउने हल्ला चलेको थियो । विभिन्न सञ्चारमाध्यममा एप्पलले ल्याउने फोल्डेबल फोनको बहस बेलाबखत भइरहन्छ । तर, विश्लेषकहरूले भने बजारमा फोल्डेबल आईफोन सन् २०२७ पछि मात्रै आउने विश्लेषण गरेका छन् । एप्पलको कडा प्रतिद्वन्द्वी सामसङले २०१९ मै फोल्डेबल फोन सार्वजनिक गरेको थियो । तर, एप्पल भने फोल्डेबल फोनको मामलामा पछाडि नै छ । बाहिरिएका विभिन्न जानकारीलाई आधार मान्ने हो भने एप्पल पनि सामसङकै लयमा गइरहेको छ । सोमबार टेन्डफोर्समा प्रकाशित रिपोर्ट अनुसार २०२८ सम्म विश्वबजारमा फोल्डेबल फोनको हिस्सा पाँच प्रतिशत हुनेछ । सो रिपोर्टमा सामसङ, ह्वावे र अन्य भेन्डरले फोल्डेबल फोनमा आफ्नो दमदार उपस्थिति जनाउने उल्लेख गरिएको छ । सोही होडमा एप्पल मिसिने सम्भावना पनी उच्च रहेकोछ ।
यसो त गत वर्ष एप्पलले फोल्डेबल आईफोनका लागि पेटेन्ट दर्ता गराएको थियो । जसले गर्दा फोल्डेबल आईफोन छिट्टै बजारमा आउने अपेक्षा पनी गरिएको थियो । तर, बजारको अवस्था, कम्पनीको सक्रियता, अनुसन्धानको पाटो आदिलाई विश्लेषण गर्दा २०२७ पछि बजारमा फोल्डेबल आईफोन आउने विश्लेषण गरिएको छ । कतिपय रिपोर्टमा त कम्पनीले फोल्डेबल आईफोनको अवधारणबाट पछि हटेको भन्ने हल्ला पनि चलाइएको छ । यसलाई विश्वास गर्न पनि गाह्रो छ । किनभने २०२२ तिर विभिन्न रिपोर्टले एप्पलले २०२४ भित्र फोल्डेबल आईफोन ल्याउने दाबी गरिएको थियो । तर, पछि त्यो दाबी गलत सावित भयो ।
एप्पलले फोल्डेबल आईफोन ल्याउन वर्षौंदेखि खोज तथा अनुसन्धान गरिरहेको छ । फोल्डेबल आईफोनको प्रोटोटाइपमा कम्पनीले ल्याउन चाहेका फिचरहरूको चर्चा गरिएको छ । त्यसमा विशेषगरी हाइब्रिड ओलेड डिस्प्ले, नयाँ डिस्प्ले प्रविधि, म्याग सेफ, बायोमेट्रिक सेन्सर समावेश हुने बताइएको छ ।